इन्डोनेसियाको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता

इन्डोनेसियाको माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इन्डोनेसियाको पूर्वी हलमहेरा टापुस्थित माउन्ट डुकोनोमा ज्वालामुखी विस्फोट हुँदा २० जना पर्वतारोही बेपत्ता भएका छन्। बेपत्ता हुनेहरूमा ९ जना सिङ्गापुरका नागरिक रहेको उद्धार अधिकारीहरूले बताएका छन्।

ज्वालामुखी विस्फोटपछि बेपत्ता भएका २० जनाको खोजी कार्य जारी रहेको स्थानीय उद्धार अधिकारी इवान रामदानीले जनाएको छ । घाइतेहरूको अवस्थाबारे भने अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।

वैज्ञानिकहरूले ज्वालामुखीको गतिविधि बढेको चेतावनी दिएपछि गत अप्रिल १७ देखि नै यो क्षेत्र आगन्तुकहरूका लागि बन्द गरिएको थियो। तर, बेपत्ता भएकाहरू सबै पर्वतारोही रहेको बताइएको छ।

भू विज्ञान विभागका प्रमुख लाना सारियाका अनुसार विस्फोटको प्रभाव शिखरबाट करिब १० किलोमिटर टाढासम्म फैलिएको छ। ज्वालामुखीको खरानी उत्तरतर्फ धेरै फैलिएकाले आवासीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

माउन्ट डुकोनो हाल इन्डोनेसियाको चेतावनी प्रणालीको तेस्रो उच्च सतर्कता स्तरमा रहेको छ। यसअघि नै अधिकारीहरूले ज्वालामुखीको ४ किलोमिटर भित्र नजान सिफारिस गरेका थिए।

भौगोलिक स्थितिका कारण इन्डोनेसियामा बारम्बार भूकम्पीय तथा ज्वालामुखी गतिविधिहरू भइरहने गर्दछन्।