उपत्यकाव्यापी पुरुष भलिबल : पाटन र रत्नराज्य क्वाटरफाइनलमा


काठमाण्डु राष्ट्रव्यापी खेलकुदअन्तर्गत प्रथम उपत्यकाव्यापी पुरुष भलिबल प्रतियोगितामा पाटन क्याम्पस र रत्नराज्य क्याम्पस क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

बुधबार ताहचल क्याम्पसमा भएको समूह ‘सी’ को लिगमा पाटनले अमृत साइन्स क्याम्पस (अस्कल)लाई २५–१७ र २५–२२ को सोझो सेटमा पराजित गर्‍यो । जितसँगै पाटन समूह विजेता बन्यो । यो समूहमा २ टिम मात्र रहेकाले अस्कल पनि उपविजेतका हैसियतले क्वाटरफाइनलमा पुग्न सफल भयो ।

रत्नराज्य दोहोरो जित निकाल्दै समूह ‘बी’ को विजेता बन्दै क्वाटरफाइनल पुगेको हो । रत्नराज्यले जय बहुमुखी क्याम्पसलाई २५–८ र २७–२५ तथा सरस्वतीलाई २५–२२ र २५–१९ को सोझो सेटमा हरायो ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय भलिबल विभागद्वारा आयोजित प्रतियोगितामा त्रिचन्द्र पनि दुई जित आत्मसात् गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्न सफल रह्यो । त्रिचन्द्रले महेन्द्र रत्नलाई २५–१८ र २५–२० तथा भक्तपुरलाई २५–२२ र २५–२२ को सीधा सेटमा पाखा लगायो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा भइरहेको प्रतियोगितामा बानेश्वर क्याम्पसले मिश्रित नतिजा निकाल्यो । शंकरदेव क्याम्पसलाई २७–२५, २२–२५ र २५–१८ ले पराजित गरेको बानेश्वर नेपाल कमर्ससँग २५–१५ र २५–१६ ले चुक्यो ।

प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । उक्त अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको उपस्थिति थियो । ७१औं मदन जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा ११ टिम सहभागी छन् ।

राष्ट्रव्यापी खेलकुदअन्तर्गत भलिबल बाहेक क्रिकेटको ट्यालेन्ट हन्टसहित प्रतियोगिता, रेस्लिङ, बुद्धिचाल, बास्केटबल, फुल कन्ट्याक्ट कराते र तेक्वान्दोको प्रतिस्पर्धा हुने छ । प्रशिक्षण तथा तालिम पनि हुने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement