राष्ट्रिय भलिबलः पुलिस र एपिएफ विजयी


काठमाडौँ- जापान राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिसले न्यू डायमन्ड एकेडेमीलाई पराजित गर्दै प्रतियोगितामा सुखद् शुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको खेलमा पुलिसले न्यू डायमन्डलाई ३–१ ले हरायो । पुलिसले न्यू डायमन्डलाई २५–१२, १५–२५,२६–२४ र २५–१९ ले स्तब्ध बनाएको हो । त्यसैगरी सोही मैदानमा आजै भएको अर्को खेलमा साविक विजेता एपिएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई २५–५,२५–६ र २५–७ ले लगातार पराजित ग¥यो ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन कृषि, भूमिसुधार तथा सहकारीमन्त्री चक्रपाणि खनालले गर्नुभएको थियो । यही वैशाख २५ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले रु एक लाख ५० हजार तथा उपविजेताले रु एक लाख पुरस्कार पाउनेछन् भने तेस्रो हुने टोलीले रु ५० हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले रु १० हजार तथा विधागत उत्कृष्ट हुने खेलाडीले जनही रु पाँच हजार पुरस्कार पाउनेछन् । प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेर पनि उत्कृष्टभित्र पर्न नसकेका एक खेलाडीलाई शेरबहादुर खड्का स्पेशल अवार्डका साथ रु १० हजारबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement