ढोरपाटन महिला भलिबल : एपीएफ शीर्ष स्थानमा उक्लियो


काठमाडाैं– साबिक बिजेता एपीएफ १४औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ।

बिहीबार दोहोरो जित निकाले पछि एपीएफले ५ खेलबाट १५ अंक जोड्दै उपाधि दावेदारी प्रस्तुत गरेको छ । एपीएफले पहिलो खेलमा आयोजक ढोरपाटनमाथी २५–२,२५–४ र २५–५ को सहज जित निकाल्दा दोश्रो खेलमा पनि चितवन टाईग्रेसलाई २५–७,२५–४ र २५–२० को सोझो सेटमा हरायो ।

पुलिसले पनि दोहोरो जित निकाल्दै लिगको दोश्रो स्थानमा उक्लिएको छ । पहिलो खेलमा थाहा नगरपालिकालाई २५–८,२५–१४ र २५–१८को सोझो सेटमा हराएको पुलिसले आर्मीलाई २५–१६,२५–२३ र २६–२४ को सोझो सेटमा स्तब्ध बनायो । पुलिसले ४ खेलबाट १२ अंक बनाएको छ।

आर्मीको बिजय यात्रा पुलिसले रोके पछि पहिलो स्थानबाट तेश्रो स्थानमा झरेको छ । आर्मीको ५ खेलबाट १२ अंक रहेको छ । अर्को खेलमा सेबले पश्मिाञ्चललाई २७–२५,२०–२५,१७–२५,२५–२२ र १५–८ को स्कोरमा हराउदै पाचौं स्थानमा रहन सफल भएको छ । खेबले ८ अंक जोडेको छ । श्रीगाउ ९ अंकका साथ चौथो स्थानमा छ । पश्मिाञ्चलले पहिलो खेलमा पराजय बेहोरे पनि खातामा १ अंक जोड्न सफल भयो ।

प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement