उपराष्ट्रपति कप: सशस्त्र प्रहरीको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्दै


काठमाडौँ– उपराष्ट्रपति कप राष्ट्रिय महिला फुटबल लिगको उपाधिका लागि मंगलवार दुई विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।

सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो फाइनल खेल हुनेछ । दुवै टोलीले खेलेका सबै तीन खेल जितेका छन् ।

अघिल्ला तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थिए । दुई खेलमा जित हात पारेको रौतहट ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।

प्रतियोगिताको उपाधि विजेताले दुई लाख, उपविजेताले एक लाख तथा तेस्रो हुने टिमले ५० हजार पुरस्कार प्राप्त गर्नेछ । लिगको सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

यही साउन ६ गतेदेखि शुरु भएको प्रतियोगितामा एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघको टिमको सहभागिता छ । प्रतियोगिता तयारीका लागि एन्फाले प्रत्येक टोलीलाई रु ५० हजार उपलब्ध गराएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement