काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले गभर्नर नियुक्तिमा बिचौलियामार्फत अर्बाैंको चलखेल हुनु देशका लागि दुर्भाग्य भएको टिप्पणी गरेका छन् ।
नवलपरासीको प्राकृतिक चिकित्सालयमा शनिबार पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारमा रहेका २ ठूला दलबीच कुन पक्षका बिचौलियामार्फत गर्भनर नियुक्त गराउने भनेर होडबाजी सुरु भएको आरोप लगाए ।
‘२ ठूला दलले गर्भनर नियुक्ति गर्ने भए त भइसक्थ्यो । यहाँ त ती दल सञ्चालन गर्ने बिचौलियाले कसलाई नियुक्ति गर्ने भनेर हानथाप छ । नियमअनुसार हुने हो भने राष्ट्र बैंकमै कार्यरत अर्थविद् गुणाकर भट्ट भइसक्थे । उनी अत्यन्त क्षमतावान् र काबिल अर्थशास्त्री हुन् । उनलाई फालेर अर्थतन्त्रमा ज्ञान नै नभएकालाई गर्भनर नियुक्त गर्ने भन्ने कुरा आइसक्यो,’ उनले भने, ‘आज मैले र शेरबहादुर देउवाले पाउने तलब मासिक ६६ हजार नै हो । आज देउवा र ओली कुनै जिल्ला जानुपर्यो भने गाडीका लावालस्कर, कार्यकर्तालाई गराइने खानपिन र रवाफमा कम्तीमा १ दिनमा ७–८ लाख खर्च हुन्छ । त्यो पैसा कहाँबाट जुटाउँछन् ? भ्रष्टीकरणका लागि त पैसा उठाउनुपर्यो । देउवा र ओलीले कहिल्यै किन सत्ता छाड्दैनन् भने भ्रष्टीकरण गरेर कमाएको अकूत सम्पत्तिको छानबिन हुनै नसकोस् भनेर हो ।’
अख्तियार, प्रहरी, कर्मचारी र अलिअलि अदालत पनि नेताहरूले नै ध्वस्त पारेको उनले बताए ।
प्रतिक्रिया