ललितपुर– काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको छ ।
खानेपानी मन्त्री बिना मगरले मंगलबार वाटर एटीएमको उद्घाटन गरेकी हुन्। उद्घाटन पछि उहाँले एटीएमबाट पानी झारेर पिएकी थिइन्।
यस्तो प्रविधि नेपालमा पहिलो पटक सार्वजनिक भएको बोर्डका कार्यकारी निर्देशक डा। संजीव विक्रम राणाले जानकारी दिए। पहिलो पटक शुभारम्भ गरिएको वाटर एटीएम मेसिन काठमाडौं उपत्यकाका बीस ठाउँमा जडान गर्दै लगिने कार्यकारी निर्देशक राणाले बताए।
उद्घाटन पछि कार्यक्रममा बोल्दै मन्त्री मगरले बाटोमा हिंड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गरिन।
वाटर एटीएमलाई नेपालीमा पँधेरो नामाकरण गरिएको छ । उक्त एटीएमबाट २ सय मिलिलिटर र एक लिटर पानी झारेर पिउन पाईने व्यवस्था गरिएको छ । २ सय मिलिलिटर पानीको मूल्य दुई रुपैंया र एक लिटर पानीको मूल्य १० रुपैंया राखिएको छ । उक्त एटीएममा दुई रुपैंयाको क्वाईन हालेपछि पानी झर्ने व्यवस्था गरिएको छ भने छुट्टै एटीएम कार्ड प्रयोग गरेर पनि पानी पिउन पाईने व्यवस्था गरिएको छ ।
बोर्डले सुपिङ ईन्टरनेशनल कम्पनीसँग सहकार्य गरेर यस्तो प्रविधि भित्र्याएको हो । वाटर एटिएम मेसिन सञ्चालन गर्ने सम्बन्धमा बोर्ड, महानगरपालिका र सुपिङ कम्पनीबीच त्रिपक्षीय सम्झौता समेत भएको छ ।
प्रतिक्रिया