द चेक रिपब्लिकमा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान

द चेक रिपब्लिकमा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्राग – ‘द चेक रिपब्लिक’मा आईतबार ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गर्दै नयाँ कीर्तिमान कायम भएको छ ।

आईतबार लगातार दोस्रो दिन उच्चतम तापक्रमको नयाँ कीर्तिमान बनेको हो ।

चेक मौसम विज्ञान संस्थान (सीएचएमआई) का अनुसार प्रागको उत्तरमा रहेको डोक्सानीस्थित आधिकारिक मौसम केन्द्रमा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ ।

संस्थानले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको जानकारीमा आधिकारिक मौसम केन्द्रको सञ्जालमा पहिलो पटक ४१ डिग्री सेल्सियसभन्दा बढी तापक्रम अभिलेख गरिएको जनाएको छ । तापक्रम अझै बढिरहेको जनाउँदै यसले रेकर्ड अझै माथि जान सक्ने उल्लेख गरेको छ ।

यसअघि शनिबार पनि डोक्सानीमा ४० दशमलव ९० डिग्री सेल्सियस तापक्रम मापन भएको थियो, जसले १४ वर्षअघिको रेकर्ड तोडेको थियो । युरोपका अधिकांश मुलुकझैँ ‘द चेक रिपब्लिक’ पनि पछिल्ला २ हप्तादेखि तीव्र गर्मीको लहरबाट प्रभावित छ । मौसमविद्हरूले आईतबार गर्मी चरम अवस्थामा पुग्ने तथा साँझतिर पश्चिमी ‘द चेक रिपब्लिक’ केही क्षेत्रमा शक्तिशाली हुरी तथा वर्षाको सम्भावना रहेको बताएका छन् ।

आईतबार २ वटा मौसम केन्द्रमा दिउँसो करिब १ घण्टामै ४० डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन गरिएको थियो, जुन शनिबारको तुलनामा करिब २ घण्टा अगाडि हो ।

सीएचएमआईले प्राग र आसपासका क्षेत्रमा अत्यधिक गर्मीका कारण जमिन सतहमा ओजोनको मात्रा बढेर धुवाँको जोखिम देखिएकाले चेतावनी जारी गरेको छ । संस्थानले विशेषगरी दीर्घकालीन श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्ति, ज्येष्ठ नागरिक र बालबालिकालाई अनावश्यक शारीरिक श्रम नगर्न तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । (रासस/एएफपी)