आज देशभर भीषण वर्षा हुने, यी नदिमा छ बाढीको जोखिम


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर रातिदेखि नै पानी परिरहेको र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जनाएको छ ।

प्रदेश नम्बर २, वाग्मती, गण्डकी, प्रदेश नम्बर ५ का धेरै ठाउँमा वर्षा भएकोले ठूलो पानी पर्ने ठाउँ-ठाउँमा बाढी पहिरो आउनसक्ने भन्दै सतर्क हुन समेत महाशाखाले अनुरोध गरेको छ ।

मौसमविद् गङ्गा नगरकोटीले देशभर बाढी पहिरोको जोखिम रहेकाले तर्क रहन आग्रह गरेकी छन् । ‘अझै दुई/तिन दिन सम्म पानी पर्ने सम्भावना छ । आज पनि दिनभर नै वर्षा हुने देखिन्छ । विशेषगरी तराई क्षेत्रमा डुबान, पहाडी क्षेत्रमा पहिरो र नदी तटिय क्षेत्रमा सतर्क रहनुपर्नेछ’, काठमाण्डुपाटीसँग कुरा गर्दै उनले भनिन् ।

अहिले प्रदेश २ का बारा, पर्सा र रौतहटका धेरै ठाउँमा ठूलो पानी परिरहेको छ भने थप वर्षा हुने भएकाले लालबकैया र अन्य साना नदीमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाउँदै आसपासका क्षेत्रमा सर्तकता अपनाउन आग्रह गरेको छ ।

त्यस्तै, नवलपरासीका अरूणखोला, गिरूवारी खोला र नवलपरासीका साना नदी तटीय क्षेत्रमा समेत एक्कासी बाढी आउन सक्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ भने डडेलधुरा रंघुनको महाकाली दोभानसम्म समेत बाढीको सम्भावना छ ।

काठमाण्डु उपत्यकाका धेरै ठाउँमा मध्यम वर्षा भैरहेकोले विष्णुमती, मनोहरा, हनुमन्ते, नख्खु लगायतका नदीमा बहाव सतर्कता नजिक रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement