को पुग्ला फाइनलमा ? इंग्ल्याण्ड भर्सेस क्रोएसिया


एजेन्सी – विश्वकप फुटबल अन्तर्गत बुधबार फाइनल प्रवेशका लागि पूर्वविजेता इंग्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । दुवै टिमले विश्वकप सेमिफाइनलको तीतो विगत भुल्दै फाइनल पुग्ने चाहना राखेका छन् ।

आज यी दुईबीचको विजेताले उपाधि भिडन्तमा फ्रान्सको सामना गर्नुपर्ने छ । खेल नेपाली समयअनुसार राती पौने १२ बजे हुने छ । इङ्ल्यान्डले १९९० मा इटालीमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा गरेको थियो ।

तर अन्तिम ४ मा पश्चिम जर्मनीलाई पेनाल्टी सुटआउटमा नतिजा सुम्पिएपछि १९६६ पछि पहिलो उपाधि जित्ने इङ्ल्यान्डको सपना चकनाचूर भएको थियो । त्यसपछिका विश्वकप इङ्ल्यान्डका लागि सम्झनलायक बनेको छैन। ४ वर्षअघि ब्राजिलमा टोली समूहचरणबाटै बाहिरिएको थियो । त्यस्तै १९९८ मा फ्रान्समा सम्पन्न विश्वकपमा स्वतन्त्र राष्ट्रका रूपमा पहिलो पटक सहभागिता जनाएको क्रोएसिया आयोजकसँग सेमिफाइनलमा २-१ ले निराश बनेको थियो । क्रोएसिया पनि ब्राजिल विश्वकपको समूहचरणबाटै बाहिरिएको थियो।

इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बियालाई निराश पार्दै विश्वकपको नकआउट चरणमा पेनाल्टी सुटआउटमा भोग्दै आएको हारको शृंखलामा पूर्ण्विराम लगाएको थियो । त्यस क्रममा गोलकिपर जोर्डन पिकफर्डको प्रदर्शन प्रशंसनीय रह्यो । शनिबार स्विडेनलाई २-० ले निराश पार्दै २८ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान पक्का गर्दा पनि पिकफर्डको प्रदर्शन उच्च थियो।

पहिलो खेलमा ट्युनिसियालाई २-१ ले पराजित गरेको इङ्ल्यान्डले दोस्रो खेलमा पानामामाथि ६-१ को प्रभाभशाली जित हात पारेको थियो । निक्कै रणनीतिक बनेको समूहचरणको अन्तिम खेलमा बेल्जिममसँग पराजित इङ्ल्यान्डले अन्तिम १६ मा कोलम्बिया र क्वार्टरफाइनलमा स्विडेनलाई निराश पारेको हो। इङ्ल्यान्ड जारी प्रतियोगितामा सेट पिसमा गोल निकाल्ने अब्बल टोलीका रूपमा देखा परेको छ ।

टोलीले अन्तिम ४ सम्मको यात्रामा ११ गोल गर्दा ८ गोल सेट पिसमा भएका थिए । इङ्ल्यान्डका कप्तान ह्यारी केन जारी प्रतियोगितामा ६ गोल गर्दै उच्च गोलकर्ताको सूचीमा सबभन्दा अगाडि छन् । ४ गोल गरेका बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकु, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र रूसका मिडफिल्डर डेनिस चेरिसेभ दोस्रो स्थानमा छन्।

यता समूहचरणको पहिलो खेलमा नाइजेरियालाई पराजित गरेको क्रोएसियाले दोस्रो खेलमा अर्जे्न्टिनामाथि सहज जित हात पारेको थियो । अन्तिम खेलमा क्रोएसियाले आइसल्यान्डलाई पराजित गरेको थियो । समूहचरणमा सहज जित हात पारेको क्रोएसियाले अन्तिम १६ मा डेनमार्क र क्वार्टरफाइनलमा आयोजक रूसको यात्रा समाप्त पार्दै इङ्ल्यान्डसँगको भेट पक्का गरेको हो ।

अन्तिम १६ र क्वार्टरफाइन दुवैमा क्रोएसिया पेनाल्टी सुटआउटमा भाग्यमानी साबित भएको थियो । जहाँ गोलकिपर ड्यानियल सुबासिचको प्रदर्शन प्रशंसनीय थियो। जारी प्रतियोगितामा क्रोएसियाका कप्तान लुका मोडरिचले पनि प्रभावशाली प्रदर्शन गर्दै आएका छन् । मोडरिचले ५ मध्ये ३ खेलमा म्यान अफ दी म्याचको अवार्ड जितिसकेका छन् । क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले टोलीले अन्तिम ४ सम्मको यात्रा पक्का गर्न धेरै संघर्ष गरे पनि इङ्ल्यान्डको उपाधिलक्ष्यमा तगारो बन्नका लागि शक्ति जोगाएर राखेको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement