गृहमन्त्रीलाई किन गुमराहमा राख्न चाहन्छन् सचिव ? प्रहरीभित्र भाँडभैलो !


 काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले अनिर्वाय अवकाश पाउन तीन साता बाँकी रहँदा सरकारले प्रहरीको बढुवा प्रक्रिया नै शुरु गर्न सकेको छैन । आईजीपी अर्यालसँगै १५ जना एआईजीले पनि ३० वर्षे सेवा हदका कारण अनिवार्य अवकाश पाउँदैछन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

समयमै प्रहरीका उच्च अधिकारीहरूको बढुवा गरेर नयाँ आइजीपीका लागि बाटो बनाउनुपर्नेमा गृहमन्त्री रामबहादुर थापा ‘वादल’ माथि गृहकार्य नै गर्न नसकेको आरोप लागेको छ । गृहमन्त्री थापालाई मुख्य सचिव लोकदर्शन रेग्मीको डिजाइनमा गृहसचिव मोहनकुमार सापकोटाले गुमराहमा राखेको आरोप छ । आइजीपी बनाउनु अघि एआइजी, डिआइजी, एसएसपीसम्मको बढुवा गरेर बाटो क्लियर बनाउनु पर्नेमा गृहमन्त्री वादल र सचिव सापकोटाले खासै ध्यान दिएका छैनन् ।

नयाँ आइजीपीमा डिआइजीहरू सर्वेन्द्र खनाल, पुष्कर कार्की र रमेश खरेल लाइनमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री वादलले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विगारे झैं यस पटक प्रहरीको सिस्टम नबिगार्ने स्पष्ट रुपमा बताइसकेका छन् । प्रहरीमा कार्य सम्पादन मूल्यांकन र सिनियारिटीको आधारमा आईजीपी चयन गरिने गृहमन्त्री वादलले समेत बताइसकेको हुँदा आईजीपीमा सर्वेन्द्रलाई कसैले रोक्न नसक्ने देखिन्छ ।

त्यसैगरी प्रधानमन्त्री ओलीले पनि प्रहरीको नियुक्त, सरुवा र बढुवामा अनावश्यक चलखेल नगर्न भन्दै केही दिन अघि मन्त्री र सचिवहरुसामु निर्देशन दिएका थिए । केही ठेकेदार र डिआईजीले अनावश्यक चलखेल गरेको थाहा पाएपछि ओलीले त्यस्तो निर्देशन दिएका हुन् ।

अर्कोतर्फ समयमै बढुवा नहुँदा मिलन बस्नेत, यादवराज खनाल, कृष्णप्रसाद गौतम एसएसपीबाटै घर जान बाध्य भए । जबकि १२ जना डिआईजीका लागि पद रिक्त छ । चैतको दश गतेसम्म बढुवा नहुने हो भने एसएसपी सुवास चौधरी र विष्णुहरि गौतम पनि घर जान बाध्य हुनेछन् । चौधरी र गौतम सक्षम प्रहरी अधिकार मानिन्छन् ।

सापकोटालाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले मन्त्रालयमा ल्याएकी हुन् । अहिले पनि सापकोटा र आरजुबीच प्रहरीमा हस्तक्षेप गर्न साँठगाँठ हुने गरेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement