दक्षिण एसियाको कूटनीति : भारतको रोजाइमा किन पर्‍यो बंगलादेश ?


-अभिनव गोयल

राजधानी नयाँदिल्लीमा हालै भएको जी-२० शिखर सम्मेलनमा भारतले बंगलादेशलाई विशेष आतिथ्यता दियो । सम्मेलनमा विशेष महत्त्व दिइएको बंगलादेश एकमात्रै भारतको छिमेकी देश थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले ८ सेप्टेम्बरको दिन आफ्नो निवासमा राखेको त्रिपक्षीय बैठकमा अमेरिका र मोरिससका सरकार प्रमुखसँगै बंगलादेशकी प्रधानमन्त्री शेख हसिना सहभागी थिइन् । बैठकमा लिइएको अमेरिकी राष्ट्रपति जो बाइडनसँग प्रधानमन्त्री हसिनाको सेल्फीले पनि विशेष चर्चा पायो ।

जी-२० सम्मेलन सकिएलगत्तै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन बंगलादेशको राजधानी ढाका गए । उनलाई स्वागत गर्न प्रधानमन्त्री हसिना आफैं विमानस्थल पुगिन् । त्यसअघि रुसका विदेशमन्त्री सेर्गेई लावरोफ बंगलादेश गएका थिए, उनी बंगलादेश जाने पहिलो रुसी विदेशमन्त्री हुन् ।

जी-२० शिखर सम्मेलनअघि दक्षिण अफ्रिकामा भएको ब्रिक्स समिटमा पनि बंगलादेशलाई बोलाइएको थियो । बंगलादेश न त जी-२० को सदस्य हो, न त ब्रिक्सको नै । तैपनि बंगलादेशलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन भारतले विशेष भूमिका खेलिरहेको छ । यसरी प्राथमिकतामा राख्ने गरी भारतको रोजाइमा बंगलादेश कसरी पर्‍यो ?

बंगलादेश सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बनेको देश हो । तैपनि कैयौ कुरामा पाकिस्तानभन्दा बंगलादेश अगाडि गइसकेको छ । पाकिस्तान परमाणु शक्तिसम्पन्न देश भए पनि बंगलादेश आर्थिक र अन्तर्राष्ट्रिय सम्बन्धमा हिसाबले बढी स्थित र बलियो देखिन्छ ।

आन्तरिक राजनीतिमा भारतको स्वार्थ !

बंगलादेशको आन्तरिक राजनीतिमा प्रधानमन्त्री हसिनाको प्रभाव कायमै रहेको देख्न चाहन्छ भारत । बंगलादेशको राजधानीमा प्रमुख २ नेता प्रभावशाली छन्, बंगलादेश अवामी लीगकी शेख हसिना र बंगलादेश नेसनालिस्ट पार्टी (बीएनपी) की खालिदा जिया । पछिल्लो १४ वर्ष बंगलादेशमा प्रधानमन्त्री हसिनाको पार्टी आवामी लीग सरकार र प्रधानमन्त्रीको नेतृत्वमा छ । बीएनपीले २०१४ को आमचुनाव बहिष्कार गरेको थियो भने २०१८ मा ७ सिट मात्रै जितेको थियो ।

दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयको सेक्टर फर साउथ एसिया स्टडिजका प्राध्यापक संजय भारद्वज भन्छन्, ‘बंगलादेशमा शेख हसिनाको सरकार नै रहोस् भन्ने भारत चाहन्छ ।’

उनी थप्छन्, ‘बीएनपीको झुकाव इस्लामिक कट्टरपन्थीतर्फ छ । उसले सधैं पाकिस्तानको वकालत गर्छ । जसको फाइदा चीनलाई हुन्छ । किनकि चीन र पाकिस्तान मित्र देश हुन् । तर अवामी लीगले लिबरल, सेक्युलर, डेमोक्रेटिकमा विश्वास गर्छ । त्यसै कारणले भारतले हसिनालाई बढावा दिइरहेको छ ।’

भारतले बंगलादेशमा बन्ने सरकार उसको शत्रु राष्ट्रसँग नजिक नहोस् भन्ने चाहन्छ । विदेश मामिलाका जानकार कमर आगा भन्छन्, ‘बीएनपी पाकिस्तान मात्रै होइन, चीन समर्थित पनि हो । बंगलादेशसँग भारतको लामो सीमा क्षेत्र छ, दुवै देशबीच पुरानो सामाजिक र आर्थिक नाता छ, जसलाई भारत कमजोर भएको देख्न चाहँदैन ।’

बंगलादेशको सत्तामा प्रधानमन्त्री हसिनाकै पुनरावृत्ति भएमा भारत र बंगलादेशबीचको व्यापारमा पनि फाइदा हुनेछ । बंगलादेश दक्षिण एसियामा भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । बंगलादेशले भारतलाई सबैभन्दा बढी वस्तु बिक्री गर्छ । दुवै देशबीच २ हजार करोड अमेरिकी डलरभन्दा बढीको व्यापार हुन्छ ।

प्राध्यापक संजय भारद्वाजका अनुसार हसिना सत्तामा आएपछि बंगलादेश र भारतले मिलेर धेरै काम गरेका छन् । भारतका पूर्वी राज्यहरू बंगलादेशी सीमाले घेरिएका छन् । दुवै देशले विकास, व्यापार र पर्यटनमा साझेदारी गर्दै आएका छन् ।

वर्षाैंदेखि श्रीलंका, बंगलादेश, पाकिस्तान र नेपालसँग भारतको सम्बन्धबारे दस्तावेज संकलन गरिरहेका लेखक अवतार सिंह भसीनले भने, ‘शेख हसिना एक समझदार नेत्री हुनुहुन्छ, उहाँलाई थाहा छ कि भारतसँग राम्रो सम्बन्ध राखेर नै फाइदा हुन्छ । कुनै प्रो र एन्टी इन्डियाको कुरा होइन । हरेक देश आफ्नो फाइदाको हिसाबले हिँड्छ ।’

विदेश मामिला विज्ञ आगा भन्छन्, ‘नेपाल, श्रीलंका र बंगलादेश जस्ता देश भारत र चीनबीचको दुश्मनीको दोहन गरिरहेका छन् । यी देश १–२ परियोजना भारतबाट लिन्छन् र १–२ परियोजना चीनबाट । यी देशलाई भारत विना मुस्किल छ ।’

सुरक्षाका हिसाबले पनि भारतले बंगलादेशलाई प्राथमिकतामा राखेको छ । चीन र पाकिस्तानसँगको सिमानामा विवाद झेलिरहेको भारत बंगलादेशसँग पनि विवाद झेल्न चाहँदैनन् । त्यसैले बंगलादेशमा हसिनाकै सरकार भएमा सहजता हुनेमा भारत यकिन छ । बंगलादेश र भारतबीच ४ हजार किलोमिटर सीमा क्षेत्र छ । बंगलादेशमा अर्कै सरकार हुँदा भारतविरुद्ध आतंककारी गतिविधिले प्रश्रय पाउने विज्ञ कमर आगा बताउँछन् । उनले भने, ‘बंगलादेशका क्याम्पबाट पूर्वाेत्तर भारतमा अलगाववादी आन्दोलनलाई समर्थन मिलेको थियो, त्यसलाई कुल्चन पनि हसिना सरकारले भूमिका खेलेको थियो ।’ त्यो आन्दोलनका नेता अरविन्द राजखोवा समेत अन्यलाई बंगलादेश सरकारले भारतको जिम्मा लगाएको थियो ।

यी थुप्रै स्वार्थबीच भारतले बंगलादेशलाई प्राथमिकता दिँदै आएको छ । भारतको सहयोगकै कारण हसिनाले अन्तर्राष्ट्रिय शक्ति राष्ट्र अमेरिका, रुस, फ्रान्स लगायतसँग सम्बन्ध विस्तारसँगै समर्थन जुटाउने मौका पाएकी छन् ।

(बीबीसी हिन्दीबाट भावानुवाद गरिएको)

प्रतिक्रिया दिनुहोस
Advertisement