काठमाण्डु-नेपाल वायुसेवा निगम वाइडबडी विमान गर्दा एक अर्ब ४७ करोड १० लाख भ्रष्टाचार भएको बिशेष अदालतले ठहर गरेको छ । यसमा ३२ जना प्रतिवादी रहेकोमा ११ जना दोषी ठहर भएका छन् भने अन्यले सफाइ पाएका छन् ।
मुद्दामा मुख्य प्रतिवादी रहेका तत्कालिन पर्यटनमन्त्री जीवनबहादुर शाहीले सफाइ पाएका छन् । शाहीसहित ३२ जनाविरुद्ध एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ बिगो कायम गरी गत २२ चैतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासबाट बिहीबार सो मुद्दामा आंशिक ठहरको फैसला भएको हो ।
मुद्दामा बिशेषले पर्यटन मन्त्रालयका तत्कालिन सचिव शंकर प्रसाद अधिकारी, वायुसेवा निगमका तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकार, भन्सार विभागका तत्कालिन महानिर्देशक रहेका पूर्वसचिव शिशिरकुमार ढुंगाना र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने दोषी ठहर गरेको छ । उनीहरूलाई जनही डेढ वर्ष कैद र १२ करोड २५ लाख रुपैयाँ जरिवानाको फैसला भएको छ । अन्य सात जना विदेशीलाई पनि सोही सजाय भएको छ ।
नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, हाइफ्लाई एक्स आयरल्यान्ड लिमिटेडकै क्रिश्चियन निह्लेन लगायत सात जना दोषी ठहर भएका छन् ।
प्रतिक्रिया