अबको ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा

अबको ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अबको चारदेखि ६ महिनाभित्र सबै उमेर समूह तेस्रो लहरको कोरोना संक्रमणको जोखिममा रहेको विज्ञले औंल्याएका छन्। नेपालमा अहिले पनि करिब ८ प्रतिशत जनसंख्याले मात्र खोप लिएका र बाँकीका बारेमा अन्योल रहेको अवस्थामा खोप नलिएका उमेर समूह जोखिममा पर्ने उनीहरूको तर्क छ।

विकसित राष्ट्रहरूले तेस्रो लहरको जोखिममा खोप नलिएका १८ वर्षमुनिका बालबालिका पर्ने प्रक्षेपण गरिरहेकै बेला नेपालका स्वास्थ्य विज्ञको भने भिन्न धारणा छ। ‘हामी कहाँ विकसित राष्ट्रकै सूत्र लागु हुने स्थिति छैन, अमेरिका तथा युरोपमा खोप लगाउन बालबालिकामात्र बाँकी रहेकाले तेस्रो लहरको जोखिममा उनीहरूलाई राखेका हुन्। हामी कहाँ खोप नलिएका सबै जोखिममा पर्छन्’, राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले भने।

नेपालमा १८ वर्षमुनिका बालबालिका र खोप नलिएका कुनै पनि समूह जोखिममा हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसन्धान विभाग संयोजक डा. शेरबहादुर पुन बताउँछन्। उनका अनुसार नेपालमा सन् २०२१ भित्रै सबै उमेर समूहले खोप लगाइसक्ने सम्भावना नदेखिएकाले बालबालिकासमेत जोखिममा छन्। अहिले कोरोना संक्रमण भएकाको शरीरमा पनि तेस्रो लहरसम्ममा एन्टीबडी प्रभाव सकिने हुनाले जोखिम हुन्छ। ‘कोरोनाले कुनै उमेर समूहलाई लक्षित गरेको हुँदैन, खोप अर्को लहर सुरु हुनुअघि नै सबैले पाउँछन् कि पाउँदैनन् भन्ने कुरा मुख्य हो’, डा. पुनले भने। खोप नलिएका युवा र बालबालिका दुवै जोखिममा पर्न सक्ने डा. पुनको अनुमान छ। भाइरस कुन रूपमा म्युटेन्ट भएर आउँछ भन्ने कुराले पनि जोखिम निर्धारण हुने उनको भनाइ छ। अहिले खोप लिएकामा पनि खोपले कति महिना काम गर्छ भन्ने कुराको अध्ययन भइनसकेको अवस्थामा कुनै उमेर समूहमात्र जोखिममा भन्ने निक्र्योल गर्न नसकिने पुनले बताए।

स्वास्थ्य सेवा परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. झलक गौतमले १८ वर्षमुनिका बालबालिकाका लागि अहिलेसम्म कोभिड १९ विरुद्धको खोप परीक्षण भइनसकेकाले अन्तर्राष्ट्रिय रूपमा तेस्रो लहरमा बालबालिका जोखिममा हुने चर्चा चलेको बताए। ‘पहिलो कुरा, बालबालिकाका लागि कोभिड १९ विरुद्धको खोप नै बनेको छैन। दोस्रो कुरा, बनिहालेमा पनि नेपालले ल्याउन सक्ने स्थिति छैन’, डा. गौतमले भने। बालबालिकामा संक्रमण भइहालेमा उपचारको व्यवस्थापन चुनौतीपूर्ण हुन सक्ने उनको अनुमान छ। ‘धेरै संख्यामा बालबालिका संक्रमित भएमा उनीहरूलाई फिट हुने भेन्टिलेटर, बेड र जनशक्ति तयार हुनुपर्छ’, उनले भने।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने अहिलेसम्म तेस्रो लहरले बालबालिका नै जोखिममा पर्छन् भन्ने पुष्टि नभएको बताए। ‘बालबालिकामात्र जोखिममा पर्छन् भन्ने प्रमाणित छैन तर हामीले सबै अस्पताललाई बालबालिकालाई मिल्ने बेड र भेन्टिलेटर क्षमताको २० प्रतिशत तयार पार्न निर्देशन दिएका छौं’, उनले भने।-यो समाचार आजको नागरिक दैनिकमा छ ।