महिला राष्ट्रिय फुटबल टोलीको प्रायोजक बन्यो युनिलिभर


काठमाण्डु- नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई प्रायोजन गर्न युनिलिभर नेपाल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच प्रायोजन सम्झौता भएको छ ।

युनिलिभरले एक वर्षका लागि महिला राष्ट्रिय टोलीेलाई प्रायोजन गर्ने भएको हो । युनिलिभरले २५ लाख‌ रुपैयाँ प्रदान गर्ने एन्फाले जनाएको छ । मंगलबार‌ एक कार्यक्रममा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

युनिलिभरका प्रबन्ध निर्देशक मुखर्जीले एकजुट भएर फुटबल विकासमा लाग्न यो सम्झौता गरेको बताए । उनले नेपालको विश्वकप खेल्ने सपना महिला फुटबलले पूरा गर्नेमा आशावादी रहेको अभिव्यक्ति दिए ।

युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले युनिलिभरलाई सहयोगका लागि धन्यवाद दिँदै राष्ट्रले आवश्यक सहयोग गर्न नसकेकोमा निजि क्षेत्रको सहयोगलाई निरन्तरता दिन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement