त्रिकोणात्मक महिला टी२०मा उपाधि होडबाट बाहिरियो नेपाल

त्रिकोणात्मक महिला टी२०मा उपाधि होडबाट बाहिरियो नेपाल

चौथो खेलमा थाइल्याण्डसँग ५ रनले पराजित


काठमाण्डु – काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२० शृंखलामा खेलेकार चार खेलमा पराजित भएपछि नेपाल उपाधि होडबाट बाहिरिएको छ । आज भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य नेपालले पछ्याउन सकेन । नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनायो ।

नेपालका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाइन् । थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । फनिता मायाले २ विकेट लिइन् ।

टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो । थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाएका थिए ।

नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । पुजा महतो र रचना चौधरीले १–१ विकेट लिए ।

नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो । सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने शृंखलामा थाइल्याण्डले लगातारचार खेलमा जित हात पारेको छ । जितसँगै थाइल्याण्ड उपाधि होडमा बलियो देखिएको छ ।