महिला टी-२० च्याम्पियनसिप : लगातार तेस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा


काठमाण्डु – लगातार तीन खेल जित्दै नेपाल एसिसी महिला टी २० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगिता अन्तर्गत सोमबार नेपालले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले २ विकेट गुमाएर ३.४ ओभरमा पुरा गरेको थियो । नेपालका लागि सीता रानामगरले ३ बलमा १ चौकासहित सर्वाधिक ४ रन बनाइन् । कविता जोशीले ३ रन बनाइन् । नेपालले अतिरिक्तबाट ८ रन जोडेको थियो ।

यसअघि किनरारा एकेडेमी ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ७ ओभरमा ६ विकेट गुमाउँदै १४ रन बनाएको थियो । उसका लागि ईशारा सुहुनले सर्वाधिक ६ रन बनाएकी थिइन् । नेपालका लागि कविता कुँवर र सबनाम राईले २–२ तथा अस्मिना कमाचार्यले १ विकेट लिइन् ।

खेल निर्धारित समय अनुसार बिहान ८ : १५ मा सुरू हुनुपर्ने थियो। तर वर्षाको कारण समयमै सुरू हुन नसक्दा खेल ७–७ ओभरमा छोट्याएको थियो । समूह चरणको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । यस्तै दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।

यो जितसँगै नेपाल समूह बी मा ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ । यस्तै दोस्रो स्थानमा रहेको हङकङले २ खेलबाट ४ अंक जोडेको छ । कुवेत र बहराइनले समान १–१ अंक जोड्दा भुटान अंकविहिन पुछारमा छ ।

यो सँगै नेपाल शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेको हो । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनलमा पुग्ने दुई टोलीले एसिया कप महिला टि–२० क्रिकेट प्रतियोगिता खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement