काठमाण्डु-सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स नेसन्स लिगको उपविजेता नेपाली महिला भलिबल टोलीका खेलाडीलाई नगद पुरस्कार सिफारिस गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्ले उपविजेता खेलाडीलाई पुरस्कारका लागि युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सफारिस गरेको हो । राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिको यही साउन २५ गते बसेको बैठकले राष्ट्रिय महिला भलिबल टोलीलाई पुरस्कारका लागि सिफारिस गरेको हो ।
राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार प्रतियोगितामा सहभागी १४ जना खेलाडीले जनही तीन लाख रुपैयाँ पाउने छन् । यस्तै मुख्य प्रशिक्षकले दुई लाख, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोले जनही एक लाख २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
साउन १७ गते देखि २३ गतेसम्म काठमाडौंमा सञ्चालन भएको प्रतियोगिताको लिग चरणमा नेपालले श्रीलंका, माल्दिभ्स र भारतलाई पराजित गरेको थियो ।
यस्तै सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनल पुगेको नेपाली टोली भारतसँग पराजित हुँदा उपविजेतामा सीमित भएको थियो । फाइनलमा नेपाल ३–२ सेटमा पराजित हुँदै उपाधिबाट विमुख भएको थियो । राउन्ड रोबिन लिगमा भने नेपालले भारतलाई ३–२ को सेटमा पराजित गरेको थियो ।
यसअघि सन् २०१९ मा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल भारतसँगै पराजित भएको थियो । त्यतिबेला नेपाल ३–२ सेटमा स्तब्ध बनेको थियो । यसैगरी गत वर्ष नेपालमै आयोजना भएको काभा नेसन्स लिग र १९औं एसियाली खेलकुदमा पनि नेपाल भारतसँग पराजित भएको थियो ।
नेपालमै भएको काभा नेसन्स लिगमा नेपाललाई भारतले ३–१ सेटले पराजित गरेको थियो । यस्तै चीनको हाङझावमा भएको १९औं एसियाली खेलकुदमा पनि नेपाल भारतसँग ३–१ सेटमै पराजित भएको थियो । काभा वुमन्स नेसन्स लिगमा नेपालसहित भारत, श्रीलंका, इरान र माल्दिभ्सको सहभागिता रहेको थियो ।
प्रतिक्रिया