विश्वकपमा यी हुन् सबैभन्दा जेठा खेलाडी


काठमाडौं – इजिप्टका गोलरक्षक एस्साम एल हादारी विश्वकपमा सहभागी सबैभन्दा जेठा खेलाडी बनेका छन् । रुसमा जारी विश्वकप २०१८ मा सोमवार समूह ‘ए’ अन्तर्गत साउदी अरबविरुद्ध पहिलो खेल खेल्दै गर्दा हादारीको उमेर ४५ वर्ष १६१ दिन छ ।

आफ्ना दुवै खेल हारेकाले इजिप्ट र साउदी अरब भने तेस्रो खेलअघि नै बाहिरिसकेका छन् । एल हादारीलाई अघिल्ला दुई खेलमा वैकल्पिक गोलरक्षकका रूपमा राखिए पनि खेलाइएको थिएन ।

यसअघि सन् २०१४ को विश्वकपमा सहभागी कोलम्बियाली खेलाडी फारिद मोन्द्रागोनको नाममा सबैभन्दा जेठा खेलाडीको कीर्तिमान थियो । ब्राजिल जापानविरुद्ध खेल्दा उनको उमेर ४३ वर्ष तीन दिनका थिए ।विश्वकप आरम्भ हुनुभन्दा अघि उनले आफू ४५ वर्षको भए पनि आफ्ना लागि उमेर भनेको कागजमा लेखिने अङ्क मात्रै भएको बताएका थिए ।

उनले भनेका थिए, “विश्वकपमा खेल्न पाउँदा म धेरै खुसी छु । र, यसले आफ्ना सपनामा विश्वास राख्नुपर्छ र तिनलाई साकार पार्न प्रयास गर्नुपर्छ भनेर सबै फुटबल खेलाडी एवम् संसारभरि अरूलाई सन्देश दिएको छ ।” एल हादारी सउदी अरबमा व्यावसायिक फुटबल खेल्छन् । यसअघि उनले १५८ खेल खेलिसकेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस
Advertisement