काठमाण्डु – फिफा विश्वकपमा एर्लिङ हालान्डले आफ्नो डेब्यू खेलमै दुई गोल र एक असिस्ट गरेपछि नर्वेले समूह आईको खेलमा इराकमाथि ४–१ को सहज जित निकालेको छ।
फ्रान्समा सन् १९९८ को विश्वकप खेलेपछि नर्वेको यो पहिलो विश्वकप उपस्थिति हो, जुन हालान्ड जन्मनुभन्दा दुई वर्ष अघिको कुरा हो। बोस्टन स्टेडियममा बुधबार बिहान भएको खेलको २९ औँ मिनेटमा हालान्डले डेभिड मोलर वोल्फको क्रसलाई बक्सभित्र प्रहार गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए।
तर ३९ औँ मिनेटमा इराकका आयमेन हुसेनले अमिर अल अम्मारीको क्रसमा उत्कृष्ट हेडर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। यससँगै हुसेन विश्वकपमा गोल गर्ने दोस्रो इराकी खेलाडी बनेका छन्।
खेलको ४३ औँ मिनेटमा हालान्डले नर्वेलाई पुनः २–१ को अग्रता दिलाए। दोस्रो हाफको ७६ औँ मिनेटमा मार्टिन ओडेगार्डको कर्नर किकमा लियो। अनि ओस्टिगार्डले उत्कृष्ट हेडर गोल गर्दै नर्वेको अग्रता ३–१ बनाए। खेलको अन्तिम समयमा हालान्डको पासमा क्रिस्टियन थोर्स्टभेड्टले प्रहार गरेको बल इराकका हुसेनलाई लाग्दै आत्मघाती गोलमा परिणत भएपछि नर्वेले ४–१ को फराकिलो जित पक्का गर्यो। यो जितसँगै नर्वे समूह आईको शीर्ष स्थानमा उक्लिएको छ। खेलमा दुई गोल गरेका हालान्ड प्लेयर अफ द म्याच चुनिए।
फ्रान्सको विजयी सुरुवात
कप्तान किलियन एम्बाप्पेको कीर्तिमान र उत्कृष्ट प्रदर्शनको मद्दतले फ्रान्सले रोमाञ्चक जितसहित आफ्नो यात्रा सुरु गरेको छ। न्युजर्सी स्टेडियममा भएको खेलमा फ्रान्सले सेनेगललाई ३–१ गोल अन्तरले पराजित गरेको हो।
खेलमा दुई गोल गर्दै एम्बाप्पे फ्रान्सको इतिहासमै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। उनले फ्रान्सका लागि आफ्नो कुल गोल संख्या ५८ पुर्याएका छन्। यस जितसँगै फ्रान्सले सन् २००२ को विश्वकपमा सेनेगलसँग बेहोरेको ऐतिहासिक हारको बदला समेत लिएको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा फ्रान्स आक्रामक रूपमा प्रस्तुत भयो। खेलको ६६औँ मिनेटमा माइकल ओलिसेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै किलियन एम्बाप्पेले फ्रान्सलाई १–० को अग्रता दिलाए।
यो गोलसँगै उनले ओलिभियर जिरुडको ५७ गोलको कीर्तिमान बराबरी गरे। ८२औँ मिनेट वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका ब्राड्ली बारकोलाले फ्रान्सका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए।
सेनेगलको सान्त्वना गोल खेलको अन्तिम समयमा सेनेगलका इब्राहिम म्बायेले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए।
एम्बाप्पेको ऐतिहासिक गोल ९ं६औँ मिनेटमा गरेका थिए। यो गोलसँगै ५८ गोल पुर्याएर उनी फ्रान्सका सर्वकालीन महान् गोलकर्ता बनेका छन्।
एम्बाप्पेको अबको नजर मिरोस्लाभ क्लोजको विश्वकप इतिहासकै सर्वाधिक १६ गोलको कीर्तिमानमा हुनेछ। विश्वकपमा एम्बाप्पेको कुल गोल संख्या १४ पुगिसकेको छ।





प्रतिक्रिया