काठमाण्डु – फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट चरण प्रवेश गरेको छ ।
अमेरिकाको सिएटल स्टेडियममा सम्पन्न खेलमा अष्ट्रेलियालाई २–० गोलअन्तरले पराजित गर्दे अमेरिका नकआउट चरण प्रवेश गरेको हो । विश्वकपमा अमेरिकाको यो लगातार दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा अमेरिकाले पाराग्वेलाई पराजित गरेको थियो ।
अमेरिकाको जितमा एलेक्स फ्रीम्यानले एक गोल गरे भने एक गोल उपहार प्राप्त गरयो । खेल सुरुवाती ११औँ मिनेटमा अष्ट्रेलियाका क्यामरुन बर्गेसको आत्मघाती गोलमार्फत अमेरिकाले पहिलो अग्रता दिलाए । अष्ट्रेलियाका डिफेन्डर क्यामरुनले क्लियर गर्ने क्रममा प्रहार गरेको बल आफ्नै गोलपोष्टमा छिर्दा अमेरिकालाई अग्रता लिने अवसर प्राप्त गरेको छ ।
त्यसपछि खेलको ४३औँ मिनेटमा अमेरिकाका एलेक्सले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत अमेरिकाले अष्ट्रेलियामाथि २–० गोलअन्तरको जित निकाल्यो । यस जितसँगै समूह ‘डी’मा रहेको अमेरिकाले २ खेलबाट ६ अङ्क जोडेको छ ।
स्कटल्याण्डमाथि मोरक्कोको जित
यस्तै मोरक्कोले स्ट्राइकर इस्माइल साइबारीको कीर्तिमानी सुरुवाती गोलको मद्दतले स्कटल्याण्डमाथि जित निकालेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा शनिबार बिहान सम्पन्न समूह सीको खेलमा मोरक्कोले स्कटल्याण्डलाई १–० गोलअन्तरले पराजित गर्यो। यो जितसँगै २ खेलबाट ४ अंक जोड्दै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ। उसले लगातार दोस्रो पटक नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।
खेल सुरु भएको मात्र ७२ सेकेन्ड (दोस्रो मिनेट)मा साइबारीले गरेको गोल नै मोरक्कोका लागि निर्णायक बन्यो। यो गोल फिफा विश्वकप २०२६ कै अहिलेसम्मको सबैभन्दा छिटो गोल हो। साथै, विश्वकप इतिहासमा मोरक्कोका तर्फबाट भएको यो सबैभन्दा छिटो गोल पनि हो।
यस गोलसँगै साइबारी इजिप्टका मोहम्मद सलाह (२०१८) पछि विश्वकपका आफ्ना सुरुवाती दुई खेलमै गोल गर्ने दोस्रो अफ्रिकी खेलाडी बनेका छन्। यसअघि ब्राजिलविरुद्धको पहिलो खेलमा पनि उनले नै गोल गरेका थिए।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका मोरक्कोका इस्माइल साइबारी ‘प्लेयर अफ द म्याच’ घोषित भए। पराजित स्कटल्याण्डको २ खेलबाट ३ अंक छ।




प्रतिक्रिया