काठमाण्डु – फिफा विश्वकप फुटबलमा अर्जेन्टिना र इजिप्ट अन्तिम १६ मा पुगेको छ ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा केब भर्डेलाई हराउँदै साविक विजेता अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । अमेरिकाको मियामी रंगशालामा शनिबार बिहान भएको नकआउट खेलमा केब भर्डे अर्जेन्टिनासँग ३–२ गोलले पराजित भयो ।
खेलको निर्धारित समय एक एकको बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो । निर्धारित समयको पहिलो हाफमा २९औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन ।
खेलको ५९औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्कायो । उसका रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गरे । त्यसपछि निर्धारित समयको खेल बराबरी हुँदा अतिरिक्त समयमा जीत निकाल्दै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो ।
खेलको ९२ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसको केही बेरमै १०३ औं मिनेटमा सिड्नी लोपेज काब्रालले गोल गर्दै केप भर्डेलाई २–२ को बराबरीमा पु र्याएका थिए । तर १११ औं मिनेटमा केप भर्डेका डिनेयको उपहार गोलमा अर्जेन्टिनाले ३–२ को अग्रता लियो ।
लियोनल मेसीले प्रहार गरेको कर्नरमा क्रिस्टियन रोमेरोले हेडिङ प्रहार गर्दा डिनेयलाई लागेर गोल हुन पुगेको थियो । पहिलोपटक विश्वकपमा सहभागिता जनाएको केब भर्डेले विश्व विजेता अर्जेन्टिनासँग उत्कृष्ट प्रतिस्पर्धा गरेको हो ।
यो विश्वकपमा अर्जेन्टिनाका लियोनल मेसीले योसहित ७ गोल गरिसकेका छन् । अब अर्जेन्टिनाले अन्तिम–१६ मा इजिप्टसँग खेल्नेछ ।
यस्तै पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ ।
अमेरिकाको डालास स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै इजिप्ट प्रि–क्वाटरफाइनलमा पुगेको हो ।
पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारी साउटर र लुकास हेरिङ्टनले गोल गर्न सकेनन् । त्यसअघि खेलको १३औं मिनेटमा इमाम आशौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए । तर, खेलको ५५औं मिनेटमा इजिप्टका मोहम्मद हानीले हेडरमार्फत गरेको क्लिरेन्स आफ्नै पोष्टमा छिर्दा अस्ट्रेलियाले उपहार गोल प्राप्त गरेको हो ।
निर्धारित र अतिरिक्त समयमा खेल एकरएक गोलको बराबरी भयो । त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ इजिप्ट विजयी हुँदै अन्तिम–१६ मा पुग्न सफल भयो ।




प्रतिक्रिया