काठमाण्डु – फिफा विश्वकप फुटबल २०२६ मा फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको छ । अमेरिकाको मियामी रङ्गशालामा आइतबार बिहान भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलले हराउँदै तेस्रो स्थान हासिल गरेको हो ।
इंग्ल्यान्डले खेलको सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै ४–० को अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसपछि १८औँ मिनेटमा एज्री कोन्शाले गोल थपे ।
बुकायो शाकाले ३७औँ मिनेट, पहिलो हाफको इन्जुरी समय र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । अन्तिम इन्जुरी समयमा जुड बेलिङ्घमले अर्को गोल थप्दै इंग्ल्यान्डको जीत सुनिश्चित गरे ।
शाकाको यो ह्याट्रिकसँगै उनी विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने इंग्ल्यान्डका दोस्रो खेलाडी बने । यसअघि सन् १९६६ को फाइनलमा सर जियोफ हर्स्टले ह्याट्रिक गरेका थिए ।
दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो । कप्तान किलियन एमबाप्पेले ४८औँ र ६६औँ मिनेटमा दुई गोल गरे भने ब्राडली बारकोलाले ५४औँ मिनेटमा र उस्मान डेम्बेलेले दोस्रो हाफको इन्जुरी समयमा एक–एक गोल थपे ।
हारका बाबजुद दुई गोल गरेका एमबाप्पेले प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्याउँदै गोल्डेन बुटको दौडमा शीर्षस्थानमा उक्लिएका छन् । साथै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा पनि अग्रस्थानमा पुगेका छन् ।
योसँगै इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जितेपछि पहिलो पटक पुरुष विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । विश्वकप फुटबलको उपाधिका लागि आज राति पौने १ बजे साबिक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेनबीच फाइनल खेल हुनेछ ।




प्रतिक्रिया