विश्वकप क्रिकेटको १२औँ संस्करण आजबाट


एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को आयोजनामा १२औँ संस्करणको विश्वकप क्रिकेट प्रतियोगिता बिहीबार (आज)बाट सुरु हुँदै छ । ४६ दिनसम्म चल्ने प्रतियोगितामा ४८ खेल हुनेछन् । प्रतियोगिताको पहिलो खेलमा आयोजक इंग्ल्यान्ड र दक्षिण अफ्रिकाले प्रतिस्पर्धा गर्नेछन् । यी दुवै टिमले अहिलेसम्म विश्वकप उपाधि जित्न सकेका छैनन् ।

आयोजक इंग्ल्यान्डसँगै यसपटक उपाधि दाबेदार टिमका रूपमा अस्ट्रेलियालाई समेत हेरिएको छ । अस्ट्रेलिया स्टिभ स्मिथ र डेभिड वार्नरको आगमनले उत्साही छ । पाँचपटकको च्याम्पियन अस्ट्रेलिया आफ्नो विश्वकपको सानदार छविलाई कायम राख्ने ध्याउन्नमा छ ।

२७ वर्षपछि राउन्डरोबिन फर्म्याट
आइसिसीले २७ वर्षपछि राउन्डरोबिन फर्म्याटमा एकदिवसीय विश्वकप आयोजना गर्न लागेको हो । प्रतियोगिताको ४४ वर्षे इतिहासमा दोस्रोपटक राउन्डरोबिन लिगका आधारमा अन्तिम चारको तय हुन लागेको हो । यसअघि १९९२ मा भएको विश्वकप क्रिकेटमा राउन्डरोबिन लिगका आधारमा प्रतियोगिता भएको थियो । फर्म्याटमा भएको परिवर्तनले यसपटक बलिया मानिएका राष्ट्रहरूमाथि स्वाभाविक चुनौती हुनेछ । यसअघि समूहचरण र नकआउटका आधारमा अधिकांश विश्वकप क्रिकेटका प्रतियोगिता भएका थिए । अब एक टिमले सेमिफाइनल प्रवेशका लागि ९ खेल खेल्नुपर्नेछ । लिगको अन्तसम्म अंक तालिकामा शीर्ष ४ मा रहने टिम सेमिफाइनलका लागि योग्य हुनेछन् । यो समाचार आजको नयांपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement