काठमाण्डु-आज विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको जुलाई २८ मा हेपाटाइटिसविरुद्धको दिवस मनाउने गरिन्छ । यो वर्ष ‘यो काम गर्ने समय हो’ भन्ने अन्तराष्ट्रिय नारा तय गरिएको छ । हेपाटाइटिस भन्नाले विभिन्न संक्रमणका कारणले कलेजोमा सुन्निने अवस्थालाई बुझिन्छ ।
कलेजोमा ‘हेपाटोट्रोपिक भाइरस’ का कारण हुने संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । हेपाटाइटिस ‘ए’ देखि ‘इ’ सम्म गरी पाँच प्रकारका हुन्छन् ।
तुलनात्मक रुपमा हेपाटाइटिस ‘बी’ र हेपाटाइटिस ‘सि’ बढी घातक हुने गर्छ । ज्वरो आउनु, शरीर पहेँलो हुनु, वाकवाकी, उल्टी हुनु, खान मन नलाग्नु, जिउ दुख्नु, अत्याधिक थकान महसुस हुनु, पिसाब पहेलो हुनु, पेट दुख्नु आदि यो रोगको लक्षण हुन् ।
दुषित पानी तथा खानेकुराको सेवन गर्नाले सरसफाइमा ध्यान नदिनाले, पानी, विषाक्त सुईको प्रयोग, असुरक्षित शारिरिक सम्बन्ध लगायतका कारण यो रोग एकबाट अर्को मानिसमा सजिलै सर्ने गर्छ ।
हरेक वर्ष विश्वमा करिब ११ लाख मानिसको मृत्यु हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण गरेको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कमा उल्लेख छ ।
धेरैजसो हेपाटाइटिसको रोकथाम र उपचार गर्न सकिए पनि उपचारको पहुँच र रोगको चेतना नभएर धेरै मानिसको अकालमै मृत्यु हुने गरेको चिकित्सकहरूको भनाइ छ ।
विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म हेपाटाइटिसलाई संसारबाट उन्मूलन गर्ने लक्ष्य लिएको छ । त्यसैगरी सो समयमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को नयाँ सङ्क्रमणलाई ९० प्रतिशतले घटाउने लक्ष्य छ ।
हेपाटाइटिसका कारण कलेजो सिरोसिस र क्यान्सरबाट हुने मृत्युलाई ६५ प्रतिशतले घटाउने लक्ष्य राखेको छ । तर नेपाल सरकारले भाइरल हेपाटाइटिस ‘बी’ र ‘सी’का लागि राष्ट्रिय रणनीति बनाए पनि यसको रोकथाम र बिरामीका लागि उचित व्यवस्थापन गर्न सकेको छैन ।
प्रतिक्रिया