अमेरिकामा चिनियाँ राष्ट्रपति सीको दुलर्भ स्वागत

अमेरिकामा चिनियाँ राष्ट्रपति सीको दुलर्भ स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चीनका राष्ट्रपति सी चिनफिङ तीन दिन अमेरिका भ्रमणका लागि वासिङ्टन पुगेका छन्।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले एन्ड्रयुजस्थित एयर बेसमै पुगेर चिनियाँ राष्ट्रपति सी र उनकी श्रीमती पेङ लियुआनलाई विशेष स्वागत गरेका छन्।

उनीहरूलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प संयुक्त बेस एन्ड्रयुजको धावनमार्गमै पुगेका थिए।

सीका लनगि रातो कार्पेट ओछ्याइएको थियो। १९६२ पछि यसरी कुनै अमेरिकी राष्ट्रपतिले यस एयर बेसमा विदेशी नेतालाई व्यक्तिगत रूपमा स्वागत गरेको यो पहिलोपटक हो।

बीबीसीका अनुसार यो दुलर्भ स्वागतले सीको भ्रमणलाई ट्रम्पले दिएको महत्त्वलाई प्रतिविम्बित गरेको छ।

सी विमानबाट ओर्लिएपछि दुई नेताले हात मिलाएका थिए। उनीहरूका छेउमा एकअर्काकी श्रीमती उभिएका थिए।

चिनियाँ नेताको आगमनलाई स्वागत गर्न उनीमाथि आकाशमा दुई वटा बी–१ बमवर्षक विमानहरू उडेका थिए भने अमेरिकी एअर फोर्स ब्यान्डले दुवै देशका राष्ट्रगान बजाएको र दुई देशका झण्डा फहराएको थियो। त्यसपछि ट्रम्प र सी छुट्टाछुट्टै वासिङ्टन, डीसीतर्फ प्रस्थान गरे।

यसबीच अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीन आउँदो नोभेम्बरमा सकिने व्यापार सम्झौतालाई जनवरी १० तारिखसम्म लम्ब्याउन सहमत भएको बताए। चिनियाँ उपप्रधानमन्त्रीसँग भेटवार्ता गरेका बेसेन्टले दुई देशबीच अझ ठोस व्यापार सम्झौता हुन सक्ने वा नसक्ने विषयमा पनि छलफल भएको बताए।

बिहीवार नै दुई नेताबीच वार्ता हुने छ। अमेरिका र चीन अझ सक्षम आर्टिफिशल इन्टेलिजन्सको विकास गर्ने दौडमा रहेको पृष्ठभूभिमा एआईको विषय वार्तामा रहने छ।

कृषि उत्पादन, दुर्लभ खनिज र ताइवानलाई अमेरिकी अस्त्रहरू विक्री गर्नेलगायतका विषय वार्तामा समेटिने अपेक्षा गरिएको छ। द्विपक्षीय वार्तापछि राजकीय भोजमा चिनियाँ र अमेरिकी अधिकारीहरूसहित प्रविधि जगत्‌का नेताहरू सहभागी हुने छन्।