नेकपा अध्यक्ष प्रचण्ड र चिनियां राष्ट्रपति सी जिनपिङबीच भेट नहुनुको यस्तो छ कारण ?


काठमाडौं – भारतको साताव्यापी भ्रमण सकेर चीनको यात्रामा गएर फर्केका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चिनियां राष्ट्रपतिसंग भेटवार्ता गर्न नपाएको बिषय यतिवेला चर्चामा छ । पुर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको चीन भ्रमणलाई कतिपयले चीनले महत्व नदिएको अर्थमा समेत ब्याख्या गरेका छन् । उच्च स्रोतले दिएको जानकारीअनुसार नेकपा अध्यक्ष प्रचण्डको यसपटकको भ्रमण विशुद्ध पारिवारिक थियो । सुरुमा नेता अग्नि सापकोटालाई लिएर चीन जाने तयारीमा रहेका प्रचण्ड चिनियाहरुकै चाहनामा पछि गएर पारिवारीक भ्रमणमा निस्केका हुन ।

प्रचण्ड र चिनियां राष्ट्रपति सी जिनपिङको निकै आत्मिय सम्बन्ध रहेको स्रोतको दाबी छ । चिनमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल दुई ठुला नेतालाई चिनियाहरुले फरक–फरक तरिकाले हेर्ने गर्छन् । पार्टी र नेतृत्वको तहबाट हेर्दा सबैभन्दा बढी मन पराईने नेता प्रचण्ड हुन् भने थिंक ट्यांक र कुटनितिक च्यानलबाट आउने रिपोर्टका आधारमा मन पराईने नेता हुन् वर्तमान प्रधानमन्त्री ओली ।

यही विषयलाई पुष्टि गर्दै एक चिनियां विज्ञले काठमाडौंपार्टीसंग भने ‘चिनियां राष्ट्रपतिले उहा(प्रचण्ड) लाई क्रान्तिको नेतृत्व गरेर आएको नेताका रुपमा बुझ्नुहुन्छ,त्यसैले पदमा नहुंदाको अवस्थामा समेत यो भन्दा पहिले भेट हुने गरेको थियो,त्यो प्रचण्डलाई सम्मान गरेर नै सम्भव भएको हो,तर अरु च्यानलको रिपोर्टका आधारमा विश्वास गर्नुपर्ने नेता प्रधानमन्त्री ओली हुन ।’ उनले दुवै नेताहरुलाई चीनले उत्तिकै सम्मान गर्ने गरेको दाबी गरे ।

कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियां राष्ट्रपतिसंगको भेट रोकेको दाबी गरेपनि त्यसमा सत्यता नभएको स्रोत बतांउछ । भारत र चीन भ्रमणमा जांदा प्रधानमन्त्री ओलीसंग सल्लाह भएको प्रचण्डकै सचिवालयले बताएको छ । दुवै नेताको बीचमा सल्लाह भए बमोजिम नै प्रचण्ड दुवै छिमेकी मुलुकको भ्रमणमा निस्केका हुन् । उनले दुवै देशमा पार्टी एकतापछि बनेको सरकारको बचावमा नै शब्द खर्च गरेको देखिन्छ ।

चीन भ्रमणका क्रममा प्रचण्डले चिनियां राष्ट्रपति सि जिनपिङलाई भेट्लान कि नभेट्लान भन्ने आशंका र चासो थियो । तर, प्रचण्डको चीन भ्रमणतालिका नै उनलाई नभेट्ने रहेको उनको सचिवालयद्धारा सार्वजनिक गरेको भ्रमण तालिकाले नै पुष्टि गरिसकेको छ । प्रचण्ड चीन भ्रमणमा जाने तयारीमा रहेका बेला चिनियां राष्ट्रपति सि जिनपिङ रुस भ्रमणमा थिए । नेपालबाट चीन भ्रमणका लागि उड्ने बेलामा नै प्रचण्डले सि लाई नभेट्ने निश्चित थियो । प्रचण्डको भ्रमण तालिकामा पनि सि लाई भेट्ने कार्यतालिका थिएन ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले अध्यक्ष प्रचण्डको चीन भ्रमणको तालिका नै चिनियां राष्ट्रपतिलाई भेट्ने नरहेको दाबी गरे । उनले भने ‘अध्यक्ष प्रचण्ड चीनको नानजिङ्गमा आयोजित कार्यक्रममा सहभागी हुन चीन जानुभएको हो, उहांको मुख्य कार्यक्रम नै अन्तराष्ट्रिय शान्ति दिवसमा सम्बोधन थियो ।’

प्रचण्डले चीन भ्रमणका क्रममा राष्ट्रपति सी का विशेष दूतसंग गोप्य वार्ता समेत गरेको स्रोतको दाबी छ । उनले हुनानमा सी का विशेष दूतसंग भेटवार्ता गरेका हुन् । प्रचण्डले त्यत्ति मात्र होईन राष्ट्रपतिका निकट साथी समेत रहेका उपराष्ट्रपति क्वी सानसंग समेत एक घण्टा लामो भेटवार्ता गरेका थिए । उनि यसअघि चिनमा भ्रष्ट्राचार नियन्त्रणका लागी बनाइएको संयन्त्रका प्रमुख समेत थिए । उनकै नेतृत्वमा चीनमा राष्ट्रपति सीले भ्रष्टाचार विरोधी अभियान चलाएका थिए । उनलाई चीनमा कतिपय सी जिनपिङको म्यासेन्जरका रुपमा समेत ब्याखा गर्छन् । प्रचण्डले क्वीसंग भेटेपछि राष्ट्रपतिसंग भेट्नु र नभेट्नुको कुनै अर्थ नरहेको चिनियांहरु बताउंछन् ।

यस्तो छ प्रचण्डको चीन भ्रमणको तालिका –

साताव्यापी चीन भ्रमणमा निस्केका नेकपा अध्यक्षको चीन भ्रमण विशुद्ध पारिवारिक रहेको उनको घुमाईबाट पनि पुष्टि हुन्छ । प्रचण्ड ग्वांजाओ हुंदै हुनान र हुनावाट बल्ल औपचारीक कार्यक्रमका लागी नानजिङ पुगेका हुन । उनी नानजिङमा अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा आयोजित कार्यक्रममा अतिथिको रुपमा त्यहा पुगेका हुन । जहा उपराष्ट्रपति सान प्रमुख अतिथीको रुपमा उक्त कार्यक्रममा सहभागी थिए । प्रचण्डले त्यो बाहेक चिनियां कम्युनिष्ट पार्टीको विदेश विभागका प्रमुख समेत भेटवार्ता गरेका थिए ।

नानजिङमा प्रचण्ड सहभागी कार्यक्रममा यसअघि नेपालबाट नेताहरु माधव नेपाल र नारायणकाजी श्रेष्ठ समेत सहभागी भइसकेका छन् । यो पार्टी तहको एउटा कार्यक्रम हो । यसपटक उक्त कार्यक्रममा प्रचण्ड सहभागी भएपछि त्यसको प्राटोकल आफैमा माथी भएको चिनियांहरुको भनाई छ । औपचारीक कार्यक्रममा भेट भइसकेपछि फेरी बेइजिङबाट प्रचण्डलाई भेट्न चिनियां राष्ट्रपतिका विश्वासिला पात्र उपराष्ट्रपति सान नानजिङ पुग्नुले पनि प्रचण्डलाई चीनले ठुलो महत्व दिएको बुझिन्छ ।

यसवाट पनि चीनले प्रचण्डलाई भविष्यको महत्वपूर्ण नेताका रुपमा हेरेको प्रष्ट हुन्छ । साथ साथै चीनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई गलत अर्थ नलागोस भनेर समेत सचेत बनेको चिनियांहरुको बुझाई छ । नेकपा अध्यक्ष प्रचण्डको भारत भ्रमणका क्रममा आएको अभिव्यक्तिले चीन झस्केको भएपनि उनलाई टाढा राख्ने पक्षमा चिन नरहेको जानकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement