राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियान : विदेशमन्त्री हटाइएकै शैलिमा हटाइए चिनियां रक्षामन्त्री

राष्ट्रपति सीको भ्रष्टाचारविरोधी अभियान : विदेशमन्त्री हटाइएकै शैलिमा हटाइए चिनियां रक्षामन्त्री


एजेन्सी- चिनियां रक्षामन्त्री ली साङ्फुलाई बर्खास्त गरिएको आशंका गरिएको छ । विदेशमन्त्री छिन गङलाई हटाइएकै शैलिमा रक्षामन्त्रीलाई पनि हटाइएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

साङफु दुई सातादेखि सार्वजनिक कार्यक्रममा देखिन छोडेका छन् । विदेशमन्त्री छिनले पार्टीको अनुसाशन उल्लंघन गरेको आरोपमा प्रक्राउ गरेर हाल उनलाई बेइजिङमा नजरबन्दमा राखिएको छ । उनको अनुसन्धान जारी छ । तर, रक्षामन्त्रीलाई भने आर्थिक अनियमितता गरेको आरोपमा अनुसन्धान चलिरहेको छ ।

राष्ट्रपति सी जिनफिङले भ्रष्टाचारमा संलग्न र पार्टी अनुशासन उल्लंघन गर्ने आफु निकटलाई समेत कडा कार्वाही गर्दै आएका छन् । रक्षामन्त्री अगस्ट २९ मा चाइना अफ्रिका पिस एण्ड सेक्युरिटी फोरममा सम्बोधन गरेपछि सार्वजनिक रुपमा देखिएका छैनन् । उनि यसअघि सेनाको उपकरण विकास विभागको प्रमुख र चीन मानव अन्तरिक्ष कार्यक्रमको समेत कमाण्डर थिए ।

स्टेट काउन्सिलर र सन् २०२२ देखि चिनको सेनालाई कन्ट्रोल गर्ने शक्तिशाली सेन्ट्रल मिलिटरी कमिसनको सदस्य रहेका रक्षामन्त्री ली माथि सेनामा छंदा खरिदमा अनियमितता गरेको आरोपमा छानविन चलिरहेको हो ।

६५ बर्षिय लीका बुवा समेत चिनियां जनमुक्ति सेनाका उच्च अधिकारी थिए । चिनियां राष्ट्रपतिका विश्वासिला चार तारे जनरल लीलाई जिम्मेवारी मुक्त बनाइएको र नोरिन्कोका उच्च पदस्थ कर्मचारीहरुमाथि समेत छानविन चलिरहेको बताइन्छ ।