सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई पत्र लेखेका छन् ।
कँडेलले प्रहरी चौकी स्थापनाको विषयलाई लिएर सुरु भएको बाजुरा र हुम्लाका स्थानीयबीचको सीमा विवाद उत्कर्षमा पुगेपछि समस्या समाधानको माग गर्दै प्रधानमन्त्रीलाई पत्र लेखेका हुन् ।
कँडेलको सचिवालयले सीमा विवाद मिलाउन पत्राचार गरिएको जनाएको छ । पत्रमा सीमा विवाद बढ्दै जाँदा दुई जिल्लाका नागरिकहरुबीच द्वन्द्व बढेको, शान्ति सुरक्षाको स्थितिमा नकारात्मक प्रभाव परेको तथा जनजीवन प्रभावित भएको उल्लेख छ ।
सीमा विवादका कारण अप्रिय स्थिति उत्पन्न भई थप क्षति हुन नदिन राज्यका तर्फबाट समयमै आवश्यक सतर्कता अपनाउन जरुरी रहेको कँडेलको पत्रमा छ ।
दुई जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने बाजुराको लाम्पाटा (रानीसैन) मा अस्थायी प्रहरी चौकी स्थापना गर्न लागिएको विरोधमा हुम्लाको खार्पूनाथ गाउँपालिका–२ राय र थाली गाउँका बासिन्दाले चौकी स्थापनामा अवरोध गरेका थिए ।
उनीहरुले निर्माण सामग्री नष्ट गर्नुका साथै बाजुरातर्फका स्थानीयमाथि आक्रमण गरेपछि विवादले उग्र रुप लिएको छ ।
झडपमा हिमाली गाउँपालिका बाजुराका कप्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, हिमाली–३ का वडा सदस्य पेमा गारा गुरूङ र प्रहरी सहायक हवल्दार महेश धामीसहित ५ जना घाइते भएका थिए ।
घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरी ४ जनालाई काठमाण्डू र एक जनालाई ल्याइएको छ । आक्रमणमा संलग्नमाथि कारबाहीको माग गर्दै बाजुराबासीले धलाचौर र कुवारीमा सडक बन्द गरी प्रदर्शन गरेका छन् ।
विवादपछि प्रहरी चौकी स्थापनाको कार्य तत्कालका लागि स्थगन गरिएको छ । बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले चौकी निर्माण रोकेर वार्तामार्फत समस्या समाधानको प्रयास भइरहेको जानकारी दिए ।
मंगलबार रानीसैन भ्रमणका लागि लाम्पाटा पुगेका धनगढीका मेयर गोपाल हमालसहितको आन्तरिक पर्यटकहरुको समूहलाई हुम्ला प्रवेशमा रोक लगाइएको थियो ।
बाजुरा र हुम्लाबाट प्रतिनिधित्व गर्ने सांसदले यसअघि नै उक्त विषयमा प्रतिनिधिसभा बैठकमार्फत प्रधानमन्त्री बालेन्द्र शाहको ध्यानाकर्षण गराएका थिए ।




प्रतिक्रिया