काठमाण्डुमा याङ्गोको राइड सेयरिङ सेवा सुरु

काठमाण्डुमा याङ्गोको राइड सेयरिङ सेवा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली बजारमा फेरि एक राइड सेयरिङ प्लाटफर्म थपिएको छ ।

विश्वव्यापी प्रविधि कम्पनी याङ्गो ग्रूपले नेपाली बजारमा राइड सेरिङ सेवा सुरु गरेको हो ।

उपाय, दोस्ती, ई–ड्राइभ नेपाल, नेपाल फ्लिट, किम एडभेन्चर लगायत नेपाली कम्पनीसँग मिलेर याङ्गोले मंगलबारदेखि काठमाण्डुमा परीक्षण राइड सेवा सेवा सुरु गरेको छ । काठमाण्डुमा परीक्षण सेवा उपलब्ध गराउने याङ्गो पहिलो एप भएको कम्पनीको दाबी छ ।

नेपालमा यसअघि पठाओ र इन्ड्राइभ लगायत दर्जन हाराहारी राइड सेरिङ कम्पनी छन् ।

नेपाली राइड सेरिङ बजारको धेरैजसो हिस्सा ओगटेका पठाओ र इन्ड्राइभ दुवै विदेशी कम्पनी हुन् । याङ्गो पनि दुबईमा आधारित विदेशी कम्पनी हो । याङ्गो एप गूगल प्ले र एप स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

याङ्गोले राइडले यात्रुहरूलाई स्थानीय यातायात प्रदायकहरूसँग जोड्दै सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । म्यापिङ, नेभिगेसन प्रणाली र स्मार्ट अर्डर वितरण एल्गोरिदमसहित प्रविधिहरू प्रयोग गरिएको एपले साझेदार चालकहरूलाई किफायती र यात्रुहरूको लागि सहज सेवा दिने याङ्गो राइडका प्रमुख व्यापार अधिकृत अदेनियी अदेबायोले बताए ।

याङ्गो राइडले स्थानीय साझेदार र यातायात प्रदायकलाई एपमार्फत् यात्रुलाई सेवाहरू प्रदान गर्नेछ । यसले साझेदारहरूलाई उनीहरूको सेवा सञ्चालनमा डिजिटलाइज गर्दै दक्षता अभिवृद्धि गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।

याङ्गो राइडले स्थानीय ट्याक्सी व्यवसायीका लागि पारदर्शिता, दक्षता र मूल्य बढाउन डिजिटल लेखा प्रणाली, फ्लिट व्यवस्थापन लगायत कार्यहरू गर्ने दोस्ती राइड स्थानीय यातायात कम्पनीका संस्थापक उद्यमी जेनिश श्रेष्ठले बताए ।

अहिले पर्यावरण–मैत्री इलेक्ट्रोनिक ट्रयाक्सी र मोटरसाइकलहरू याङ्गामा आवद्ध भइरहेको कम्पनीले जनाएको छ । याङ्गो राइडले प्रयोगकर्ताले राखेको गन्तव्यको आधारमा प्रत्येक यात्राको अनुमानित लागत स्वचालित रूपमा गणना गर्ने र हालका लागि नगदमा मात्र भुक्तानी गर्न सकिने छ । भविष्यमा अनलाइन भुक्तानी प्रणाली पनि ल्याउने कम्पनीको योजना छ ।

राइड–हेलिङ सेवामा यात्रु वा चालकको सुरक्षा नै पहिलो प्राथमिकता भएको कम्पनीले जनाएको छ । यसका लागि कम्पनीले २० भन्दा बढी सेफ्टी फिचर समेत ल्याएको छ ।

याङ्गो समूह एक अन्तर्राष्ट्रिय प्रविधि कम्पनी हो, जसले विश्वव्यापी रूपमा प्राप्त प्रविधिहरूलाई स्थानीय समुदायहरू अनुरूप दैनिक सेवाहरूमा रूपान्तरण गर्दछ । याङ्गो समूहले अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्यपूर्व, दक्षिण एशियासहित ३० बढी देशमा डेलिभरी, फूडटेक, मनोरञ्जन लगायत डिजिटल सेवाहरू प्रदान गरिरहेको छ ।