काठमाण्डु – सार्वजनिक यातायात व्यवसायीहरूले अनिश्चितकालीन सवारीसाधन बन्द सहितका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
मंगलबार ६ वटा व्यावसायिक संगठनहरूले ७ बुँदे मागसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारहरूले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२/०२/०१ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।
उनीहरूले जेठ १८ गतेसम्म मागहरू सम्बोधन नभए १९ गतेबाट देशव्यापी रूपमा अनिश्चितकालका लागि सवारीसाधनहरू घर ग्यारेजमा थन्काउने चेतावनी समेत दिएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरले गण्डकी प्रदेश सरकारले प्राइभेट गाडीमा मानिस राख्न पाउने नियम बनाउनु नै आन्दोलनको ठूलो कारण बनेको बताए । यस विषयमा सरकार गम्भीर नभएका कारण यातायात व्यवसायीले दुःख पाएको बताए ।
उनले अहिले यो २१औं शताब्दिमा आएर पनि गरिखानेलाई गरिखान नदिने सोच राख्नु नै गलत रहेको बताए ।
कार्यक्रममा बोल्दै सार्वजनिक यातायात व्यवसायिक महासंघका अध्यक्ष डा. डोलनाथ खनालले हरेक नम्बर प्लेटको आ–आफ्नै विशेषता हुने भएकाले त्यसलाई कुल्चिएर अघि बढ्न नहुने बताए ।
अर्का व्यवसायी सरोज सिटौलाले गण्डकी प्रदेशका मुख्यमन्त्रीका कारण आन्दोलनमा जान बाध्य भएको बताए ।
प्रतिक्रिया