यती एअरलाईन्सले सुरु गर्यो विद्युतीय भ्यानको प्रयोग

यती एअरलाईन्सले सुरु गर्यो विद्युतीय भ्यानको प्रयोग


काठमाडौं–यती एअरलाईन्सले काठमाडौं विमानस्थल परिसरमा विद्युतीय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति आफ्नो प्रतिबद्धतालाई अझ बलियो बनाएको छ । अमेरिकी वातावरण संरक्षण निकाय (युएसईपीए)को एक शोधका अनुसार एउटा सामान्य यात्रु वाहक सवारी साधनले वार्षिक ४.६ टनका दरमा कार्बनडाइअक्साइड ग्याँस उत्सर्जन गर्छ ।

विद्युतीय सवारी साधनको प्रयोगले वातावरण संरक्षणमा महत्वपूर्ण सहयोग पु¥याउने अपेक्षा यती एयरलाइन्सले लिएको छ । यो सुरुवातले सकारात्मक प्रतिक्रिया पाए पेट्रोलबाट चल्ने विद्यमान सबै (२० वटै) भ्यानलाई महिन्द्रा इ–सुप्रो विद्युतीय भ्यानले स्थानान्तरण गर्ने योजना यती एयरलाइन्सको रहेको छ ।

यो सुरुवातले युएनडीपीले तय गरेकोे दीर्घकालीन विकास लक्ष्यको १३ नम्बरको बुँदा क्लाईमेट एक्सनलाई पनि प्रबद्र्धन गर्नेछ । नेपाली एअरलाइन्स माझ यती एयरलाइन्सले उदाहरण स्थापित गर्दै विगत लामो समयदेखि राष्ट्रसंघको यो लक्ष्य हासिल गर्न प्रयत्नरत् छ ।

यती एअरलाइन्सले “कार्बन क्रेडिट” खरिद गरेर आफ्नो “हरितगृह ग्याँस” उत्सर्जनको भर्पाइ गर्दै आएको छ । यो जलवायु परिवर्तन सम्बन्धी राष्ट्रसंघीय संयन्त्र महासन्धी (युएनएफसीसीसी) बाट प्रमाणित उत्सर्जन न्युनिकरणको उपाय हो । विगतमा पनि यती एअरलाइन्सले “हरियो सुदूर पश्चिम परियोजना” र “सगरमाथा सफाइ अभियान” जस्ता महत्वपूर्ण वातावरणीय र सामाजिक अभियानहरु संचालन गर्दै आएको छ ।

यती एअरलाइन्सका कार्यकारी निर्देशक चन्दा शेर्पा र युएनडीपी नेपालका आवासीय प्रतिनिधि आइशानी मेडागांगोडा लेबले शुक्रवार एक समारोह बिच विद्युतीय भ्यान प्रयोगको शुभारम्भ गरे ।

‘‘विद्युतीय भ्यानको सुरुवात कार्बन न्युट्रलिटीप्रति हाम्रो प्रतिबद्धता जाहेर गर्ने एउटा अवसर हो । वास्तवमा कार्बन न्युट्रलिटी वातावरण संरक्षणको दिशामा हाम्रो इमान्दार र व्यवहारिक प्रयत्न हो । एउटा सकारात्मक परिवर्तनको अग्रज बन्न पाउँदा हामी गौरवान्वित छौं । हामीलाई विश्वास छ, यसले सबैलाई हाम्रो पृथ्वीको रक्षार्थ चेतनशिल कदम चाल्न उत्प्रेरणा दिनेछ ।’’ यति एअरलाइन्सका प्रबन्ध निर्देशक चन्दा शेर्पाले भनिन् ।