काठमाण्डु – नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल)को महाधिवेशन सकिए लगत्तै पार्टीभित्र खटपट सुरु भएको छ ।
वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुष्प ओलीको नेतृत्वमा चयन भएको ७५ जनाको कमिटी भद्दा भएको भन्दै माओवादी नेताहरूबीच जुहारी चलेको हो ।
वाईसीएलमा उपाध्यक्षमा २२ जना, महासचिव र कोषाध्यक्ष १÷१ जना, उपमहासचिव १९ जना र सचिव ३१ जना चयन भएका छन् । महाधिवेशनको नेतृत्व चयनको विषयलाई लिएर माओवादी भित्र चर्को असन्तुष्टि पनि बढेको छ । पार्टीले निर्वाचन लड्न नदिएर खल्तीबाट नाम सुनाइएको भन्दै युवा नेताहरू पनि नेतृत्वप्रति असन्तुष्ट छन् ।
यसबीच माओवादीका केन्द्रीय सदस्य अनिल शर्माले सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाइसीएललाई बन्धक बनाएरै छोडेको टिप्पणी गरेका छन् । वाइसीएलको खासै दोष नभएको बताउँदै उनले त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति पीडित भए त्यो इतिहासको गर्भमै रहने बताएका छन् । अनिल शर्मा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माका भाइ हुन् ।
‘विधान पास गरेको केहि घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाईसीएललाई पनि बन्धक बनाएरै छोडे । यसमा वाइसीएलको खासै दोष छैन, त्यसको जिम्मा लिने र पार्टीको नेतृत्वको कारण कति भिक्टिम भए, त्यो त इतिहासको गर्भ मै रहला ।’ शर्माले सामानिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जे जसरी होस् एउटा कमिटी बनेको छ, कमरेड पुष्प वली नेतृत्वको वाइसीएल नेपाललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’
यस्तो छ शर्माको स्टाटस

शर्माको आक्रोश मिश्रित टिप्पणी आएपछि वाइसीएलका इन्चार्ज समेत रहेका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा)ले काउन्टर जबाफ फर्काएका छन् ।
उनले पनि फेसबुकमा लेखेका छन्, ‘वाइसीएलमा जनार्दन शर्मा जहाँ चुनाव लड्छन् त्यहीँ लड्न तयार रहेको छु ।’ उनले जनार्दन पक्षको कुनै केही नचलेपछि उनका आसेपासेले गरेको प्रचार निन्दनीय भएको टिप्पणी गरेका हुन् । सापकोटाले शर्माले निर्वाचनमा जान नदिएको आरोप पनि लगाएका छन् ।
‘अनिल जी फ्याक्सर्नको हिसाबले म त चुनावमा लैजाने तयारीमा थिए। (नाताले तपाईँको दाइ) आदरणीय नेता जनार्दन शर्माले पार्टी पदाधिकारी बैठक र अध्यक्षसँग वाइसीएल जस्तो संगठनलाई चुनाव लैजानुहुन्न भनी सहमति कुरा आएको छ । खास के हो ? अनि तपाईँहरूको पक्षले खुमलटार पुगेर गरेका अन्य सहमतिबारे मलाई केहि जानकारी कसैले गराइदिए हुने हो । मैले घुइरो घुँइरो सुनेको मात्रै छु,’ सापकोटाले लेखेका छन्, ‘वाइसीएलमा घुनपुतली नलागेपछि तपाई र अन्य आसेपासेले आजबाट सुरू गरेको प्रचार निन्दनीय छ । यस्ता पानी मरूवा चाल चल्न छोडेर साँच्चै लड्न आए हुन्छ । म माओवादीमा तपाईँका दाइ जहाँ लड्छन् त्यही चुनाव लड्न तयार छु ।’
दीपशिखाको टिप्पणी पछि अखिल (क्रान्तिकारी)का उपमहासचिव निर्मला गौतमले पनि नेकपा (एमाले)का नेता महेश बस्नेतसँग चुनाव लडेर संसदमा देख्न मन भएको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘जनार्दन शर्मासँग होइन, महेश बस्नेतसँग चुनाव लडेर आउनुहोस् संसदमा हेर्न मन छ । गौतम शर्मा निकट रहेकी छन् ।’
यस्तै अखिल (क्रान्तिकारी)का पूर्व सचिव खेम रनपहेलीले ‘अध्यक्षको नाम भजाएर दादागिरी हो, पार्टी तपाईँको पेवा हो, दाजुभाइको सम्बन्ध देख्नेले पार्टी अध्यक्ष प्रचण्डको नाम भजाएर राज गरेको देख्नुभएको हो’, भन्दै प्रश्न गरेका छन् । उनले लेखका छन्, ‘तपाईँलाई वाईसीएलको कार्यकारी भूमिका दिइएको होइन । हाम्रो पार्टीमा फ्याक्सन इन्चार्ज कार्यकारी पद होइन । तपाईँको हस्तक्षेप थियो भन्ने केही वाईसीएलका साथीहरूको पनि गुनासो थियो । तपाईँलाई वाईसिएलमा छुट्टै चियरिङ गराउनु पर्ने, वाईसिएल अध्यक्ष भन्दा अगाडि तपाई उभिनु पर्ने जरुरी थियो ? आखिर वाईसिएल त तपाईँले पनि चलाएकै हो त । दोस्रो कुरा अखिल (क्रान्तिकारी)को तपाईँलाई के जिम्मेवारी थियो र संस्थापन भन्दै उपत्यका प्रदेशमा भोट माग्नु भयो ? पार्टी संगठनमा तपाई पारस हो ? अध्यक्षको नाम भजाएर दादागिरी हो ? पार्टी तपाईँको पेवा पनि होइन ल । दाजुभाइको सम्बन्ध देख्नेले पार्टी अध्यक्ष प्रचण्डको नाम भजाएर राज गरेको देख्नु भएन ? रनपहेली पनि शर्मा निकट गनिन्छन् ।
यसैगरी एकराज केसीले अध्यक्ष र सिङ्गो कमिटीमाथि प्रचण्डको नाम दिँदै हस्तक्षेप र अनुचित नियन्त्रण गरेर दीपशिखाले वाइसियल कोल्याप्स गरेको दाबी गरेका छन् । उनले जनार्दनसँग चुनाव लड्छु भन्नुभन्दा वडावाट सदस्य भएपनि चुनाव जितेर देखाउन चुनौती दिएका छन् । केसीले भनेका छन्, ‘अध्यक्ष र सिङ्गो कमिटी माथि प्रचण्डको नाम दिँदै हस्तक्षेप र अनुचित नियन्त्रण गरेर वाइसियल कोल्याप्स गरेको कुलङ्गार हो तिमि । वाइसीएलको नाममा चन्दा र धन्दाले चलेको तिम्रो जीवन र कार÷गाडि पनि सँगै खरानि बनाउनु पर्ने हो । जनार्दनसँग चुनाव लड्छु भन्नु भन्दा पहिले तिम्रो वडाबाट सदस्य भएपनि चुनाव जितेर देखाउ न ! हैसियत बिनाको फुर्ति नलाउ। जनार्दन त जनप्रिय जननिर्वाचित नेता हुनुहुन्छ तिमी जस्तो गुलाम होइन ।’
यता वाइसीएलका उपाध्यक्ष सन्तोष पनेरुले विधान हलले पास गरेको र त्यसलाई त्यहि संशोधन गरेकाले कुनै चोरी काम नभएको दाबी गरका छन् । उनले आकांक्षी र परिस्थितिका बिचमा अन्तरविरोध भएपछि गरिएको सन्तुलनको दोष थुपरेर मज्जा लिन छोड्न आग्रह गरेका छन् ।
उनले भनेका छन्, ‘दिपशिखा जत्तिको कमाण्ड लिने ईन्चार्ज थियो र गुटहरूले (स्वार्थ समूहहरू) धुजाधुजा पारेका अरु मोर्चाभन्दा वाइसीएल जोगिएको छ । पार्टी हेडक्वाटरमा प्रतिबद्ध वाइसीएलमा घुनपुतला लगाउन नसकेपछि अंगुर अमिलो भयो स्टाईलमा खुराफात सुरु भएको छ ! हो, सिगैं वाईसीएल प्रचण्डमा केन्द्रीकरण छ । र त्यसको फिल्ड कमाण्ड लाइन, विचार र नेतृत्वको हिसाबले ईन्चार्ज दीपशिखाले गर्छ र सिंगै फोर्स आफ्नो कमाण्डरप्रति भरोसा राख्छ ! यसमा जलेर, पिर मानेर वा सराप हालेर खास अर्थ हुदैन् !’
यता अखिल क्रान्तिकारी पूर्व उपाध्यक्ष पवन कार्कीले अहिलेको वर्तमान परिस्थितिमा संगठनात्मक जीवनमा अवलम्बन गरिरहेको तदर्थवादी तरिकाले भविष्यमा झन् बढी समस्या निम्त्याउने दाबी गरेका छन् । माओवादीको आन्तरिक संगठनात्मक जीवनलाई व्यवस्थित गर्नका लागि नेतृत्व विकास र निर्माणको उपयुक्त विधि निर्माणका आधार र मोडेल तयार गर्न जुट्न उनको आग्रह छ ।
प्रतिक्रिया