देशले निकास र अग्रगमन खोजेकाले कांग्रेस–एमाले एकै ठाउँमा आएको छ : एमाले सचिव भट्टराई

देशले निकास र अग्रगमन खोजेकाले कांग्रेस–एमाले एकै ठाउँमा आएको छ : एमाले सचिव भट्टराई


काठमाण्डु-एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले माओवादी केन्द्रले लगानीभन्दा बढी नाफा खोजेको टिप्पणी गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले एमालेले माओवादीको लगानीले नभएपनि पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यक्तित्व हेरेर विश्वास गरेको बताए ।

‘कहिलेकाँही बैंकले व्यक्तिको व्यक्तित्व हेरेर पनि ऋण दिन्छ । माओवादीको धितो जमानत नपुग्दै पनि प्रचण्ड कमरेडको व्यक्तित्वबाट पनि हामीले विश्वास गरेका हौं । तर, सधैं त्यो हुँदैन । बैंकले पनि जोखिम हेर्छ, कहिले काँहीँ व्यक्तिलाई पत्याउँछ,’ उनले भने ।

भट्टराईले प्रधानमन्त्रीको भाषण संसदमा प्रधानमन्त्रीको हौसियतले अन्तिम हो कि जस्तो आफूलाई लागेको बताए । प्रधानमन्त्रीले केही गलत सूचना दिएको बताउँदै त्यसको जबाफदेही भोलीका दिनमा हुनुपर्ने उनले बताए ।

‘प्रधानमन्त्रीको भाषण सुनिरहँदा मलाई यस्तो लाग्यो कि, यो रोस्टममा प्रधानमन्त्रीको हौसियतले अब फेरी भाषण गर्ने दिन फर्किदैन कि भनेर भन्नुभएको जस्तो मलाई महशुस भयो । माया मारेको जस्तो पनि लाग्यो । त्यसैले होला थुप्रै आकोश पोख्नुभयो । केही गलत सुचना दिनुभयो’ उनले भने ।

स्थायी सरकार, देशमा रोजगारी सिर्जना, नेपाली विदेश जान नपर्ने अवस्था सिर्जना गर्न दुई पार्टीको गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो ।

उनले संसद्का दुई ठुला दलमध्ये एउटा सरकारमा र एउटा प्रतिपक्षमा रहने चलन भए पनि कांग्रेस–एमालेको सहकार्यबाट नै देशमा ठुला परिवर्तन भएको दाबी गरे ।

उनले दाहाललाई प्रधानमन्त्री बनाउन पनि कांग्रेस र एमालेको भूमिका रहेको दाबी गरे ।

भट्टराईले देशले निकास र अग्रगमन खोजेकाले कांग्रेस र एमाले एक ठाउँमा आइपुगेको दाबी गरे । एमाले र कांग्रेस सात दशक अगाडिदेखि राजनीतिक संघर्षको इतिहासबाट आएको बताउँदै भट्टराईले दुई दलको अगुवाईमा ठूला ठूला परिवर्तन आएको उल्लेख गरे । उनले दाहाललाई आफूलाई अनुकुल हुँदा एउटा र प्रतिकूल हुँदा अर्को व्याख्या नगर्न चेतावनी दिए ।

भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली १२ बुँदे सम्झौताका मस्यौदाकार रहेको नबिर्सन आग्रह गरे । उनले भने,‘एमाले अध्यक्ष केपी शर्मा ओली १२ बुँदे सम्झौताका मस्यौदाकार हुनुहुन्थ्यो । एक जना मस्यौदाकार एमालेको तर्फबाट उहाँ हो । शेरबहादुर देउवा पनि थुनामा हुनुहुन्थ्यो, १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्नु भएको होइन र ?’

संविधान निर्माण र राजनीतिमा माओवादीको योगदान भएकाले नै संसदमा माओवादी भएको बताउँदै उनले ठूला ठूला हिंसात्मक आन्दोलन बिलय भएको स्मरण गर्न आग्रह गरे ।