काठमाण्डु- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा युवा सहभागिता र नयाँ–पुराना नेताबीच सन्तुलन मिलाउन आग्रह गरेका छन् ।
स्थायी कमिटीको जारी बैठकमा आफू उपस्थित हुन नसकेको जानकारी दिँदै भट्टराईले पार्टी अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका हुन् ।
शनिबार फेसबुकमा स्टाटस लेख्दै उनले केन्द्रीय सदस्यको बाँकी मनोनयनमा ४० वर्षमुनिका युवालाई विशेष स्थान दिनुपर्ने र विगतमा छुटेका भूगोल, समुदाय तथा पार्टीभित्रको आन्तरिक सन्तुलनलाई ध्यान दिनुपर्ने बताएका छन् ।
त्यस्तै, स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा पुराना र नयाँ नेताबीच सन्तुलन मिलाउनुपर्ने उनको सुझाव छ ।
‘आसन्न निर्वाचनसहितका अन्य चुनौतीको सामना गर्न पार्टीको आन्तरिक एकता पहिलो सर्त हुनेछ,’भट्टराईले लेखेका छन्, ‘पार्टी एकतालाई खण्डित गर्ने कुनै पनि निर्णय हतारमा निर्णय र फुर्सदमा पछुताउनुसरह हुनेछ ।’
उनले केन्द्रीय सदस्य मनोनयन तथा स्थायी कमिटी र पोलिटब्युरो गठनका विषयमा सहमति कायम हुन नसके ती एजेन्डा केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंग्याउनु उपयुक्त हुने बताएका छन् ।
भट्टराईले मुलुकको राजनीतिक परिस्थिति गम्भीर र पेचिलो बन्दै गएको उल्लेख गर्दै लोकतन्त्र र संविधानको रक्षाका लागि प्रमुख राजनीतिक दलहरूले आफूलाई रूपान्तरण गर्दै बलियो एकता निर्माण गर्नुपर्ने बताएका छन् ।
एमाले केन्द्रीय कमिटीको असोज पहिलो साता सम्पन्न बैठकमा पनि ४० वर्षमुनिका युवालाई केन्द्रीय सदस्यमा प्राथमिकता दिनुपर्ने तथा स्थायी कमिटी र पोलिटब्युरो गठन गर्दा नयाँ र पुरानाबीच सन्तुलन कायम गर्न स्पष्ट मापदण्ड बनाउनुपर्ने विषय उठाएको उनले स्मरण गराएका छन् ।
पार्टीको जारी स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने तथा वडा र पालिका तहका अधिवेशन आयोजना गर्ने निर्णय गरेको सन्दर्भमा भट्टराईले संगठनात्मक गतिविधिसँगै पार्टीभित्र र राष्ट्रिय महत्वका विषयमा छलफल गरेर सकारात्मक निष्कर्षमा पुग्नुपर्नेमा जोड दिएका छन् ।




प्रतिक्रिया