ओलीले राजीनामा दिएर प्रचण्ड–नेपालले दोस्रो पुस्तालाई प्रधानमन्त्री छोड्नुपर्छः योगेश भट्टराई

ओलीले राजीनामा दिएर प्रचण्ड–नेपालले दोस्रो पुस्तालाई प्रधानमन्त्री छोड्नुपर्छः योगेश भट्टराई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ताप्लेजुङ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् ।

प्रेस सङ्गठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।’

एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो । प्रचण्ड–नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए ।

‘नेकपा एकताको सम्भावना मरिसकेको छैन, कोमामा मात्रै पुगेको हो । कुसल डाक्टर पायो भने बचाउन सक्छन्’, नेता भट्टराईले भने, ‘सर्वप्रथम केपी ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ, त्यसपछि प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री पदमा आफू नजाने घोषणा गर्नुपर्छ ।’

नेता भट्टराईले नेपाल पत्रकार महासङ्घको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट रु एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने उनले प्रतिबद्धता जनाए ।