सिंहदरबार प्लाजामा पहिले राम्रै काउली फल्थे, अचेल संस्था चल्न थालेछन्ः अर्थमन्त्री खतिवडा


काठमाडौं – अर्थमन्त्री युवराज खतिवडा बैंकहरूको नाफाको बचाउ गरेका छन् । कृषि विकास बैंकको ५३औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै बैंकहरूले १५ देखि २० प्रतिशत नाफा गर्नु स्वभाविक रहेको बताएका हुन् ।

कार्यक्रममा मन्त्री खतिवडाले वित्तीय तथा बैंकिङ क्षेत्र पहिलेको भन्दा सुदृढ हुँदै गएको दाबी गर्दै आफू राष्ट्र बैंकमा काम गर्दा बैंकहरूको कुल पुँजी १२ अर्ब पनि नरहेको र अहिले एउटै बैंकको चुक्तापुँजी १२ अर्बभन्दा कम नरहेको दाबी गरे ।

‘बैंकहरूको नाफालाई आलोचना गर्नुपर्ने कारण नै छैन । १५ अर्ब लगानी गरेका बैंकले १५ प्रतिशत अर्थात् २ अर्ब नाफा गर्नुलाई उद्योगी व्यवसायीले आलोचना गर्न मिल्दैन,’ उनले भने, ‘यसबाहेक खराब कर्जाको अनुपात पत्याउनै गाह्रो कम छ । निक्षेप, कर्जामा सबैमा विस्तार भएको छ ।’

खतिवडाले २० प्रतिशत नै नाफा गर्न थाले भने अस्वभाविक मान्न सकिने बताउँदै १२ देखि १३ प्रतिशत नाफालाई उत्तम मान्न सकिने बताए । नाफाको विषयमा अहिले सरकारी बैंक नै अग्रपंक्तिमा रहेको दाबी गर्दै खतिवडाले भने, ‘सिंहदरबार प्लाजामा पहिले राम्रै काउली फल्थे । अचेल राम्रा संस्था चल्न थालेछन् ।’

सो अवसरमा खतिवडाले बैंकहरूमा रहेको कर्मचारी संगठनहरूको पनि प्रशंसा गर्न भ्याए । खतिवडाले कर्मचारीहरूको सेवा सुविधामा सरकार पुनर्विचार गर्न तयार रहेको बताउँदै कर्मचारीहरूले यसरी नै राम्रो काम गर्ने हो भने व्यवसाय विस्तारमा सरकारले सघाउने दाबी गरे ।

‘सरकारी बैंकलाई सरकारले राम्रै गर्नेछ किनकी नाफा सरकारले नै लिने हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement