काठमाण्डु-आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारले विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउन थालेको २० वर्ष पुग्न थालेको छ । युवा लक्षित गरी सरकारले ल्याइएका कार्यक्रम कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको युवाहरुको गुनासो छ ।
स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशमा जाने गरेको विभिन्न सरकारी तथ्याङ्क रहेको छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहका युवाको जनसङ्ख्या ४२ दशमलव ५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार १७३ रहेको छ । जनसाङ्ख्यिक हिसाबले युवाको जनसङ्ख्या धेरै रहेको छ ।
जनसङ्ख्यासँगै नीति–निर्माण र नेतृत्वमा युवाको सहभागिता बढ्दो छ । सङ्घमा १२ प्रतिशत, प्रदेशसभामा २० प्रतिशत र पालिकामा ४१ प्रतिशत युवाको जनप्रतिनिधिमा सहभागिता रहेको छ । युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ ।
राष्ट्रिय युवा नीति २०७२ र ‘युथ भिजन २०२५’ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र पालिकामा पनि युवाका संरचना तयार गरिएका छन् । प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् ।
परिषद्ले सात सय ५३ स्थानीय तहमा नगर–गाउँ परिषद् गर्नुपर्नेमा अहिले कार्यपालिकाद्वारा १६ स्थानीय तहमा मात्रै परिषद् र ६५ वटा स्थानीय तहमा युवा सञ्जाल गठन भएका छन् । प्रदेश स्तरमा लुम्बिनी, बाग्मती र सुदूरपश्चिममा युवा परिषद् गठन गरिएको छ । तर पनि युवाका मुद्दा सम्बोधन हुन सकिरहेका छैनन् ।
सन् १९९८ अगस्ट ८ देखि १२ तारिखसम्म संयुक्त राष्ट्रसङ्घको समन्वयमा पोर्चुगलको राजधानी लिस्बनमा विश्वका एक सय ४० देशका युवा मामिला हेर्ने मन्त्रीहरूको सहभागितामा विश्व युवा सम्मेलन भएको थियो । त्यस सम्मेलनले आ–आफ्ना देशमा राष्ट्रिय युवा नीति तर्जुमा गर्ने साझा प्रतिबद्धता जनाउनाका साथै युवा सशक्तीकरणका पक्षमा ८८ बुँदा लिस्बन घोषणापत्र समेत जारी गरेको थियो ।
त्यसपछि सन् २००० देखि ऐतिहासिक घोषणा भएको अगष्त १२ लाई आधार मान्दै हरेक वर्ष विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालियो । नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।
नेपालमा यसवर्ष ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि : डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने मूल नाराका साथ दिवस मनाउन लागिएको छ ।
प्रतिक्रिया