नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई फेरी बर्खास्त गर्ने तयारी


काठमाण्डु – नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई फेरी बर्खास्त गर्ने तयारी भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।

पर्यटन मन्त्रालयलयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले उनलाई तपाईलाई बर्खास्त किन गर्न नपर्ने भन्दै ३ दिनभित्र जवाफ दिन माग गरेको छ ।

सरकारले यसअघि उनलाई हटाएर दिपु ज्वारचनलाई कार्यकारी अध्यक्ष बनाउने निर्णय गरेको थियो । तर, अदालतबाट अल्पकालिन आदेश ल्याएर उनि अहिले काम गरिरहेका छन् ।

अधिकारीलाई यसअघि पनि मन्त्रालयका सचिव न्यौपानेको नेतृत्वमा छानबीन समिति गठन गरी तत्कालिन पर्यटनमन्त्री प्रेम आलेले अध्यक्ष पदबाट निलम्बन गरेका थिए । तर, सर्वोच्चले छानबीनपछि निर्णय गर्ने अधिकार सरकारको क्षेत्रभित्र पर्ने भएपनि छानबीनकै क्रममा निलम्बन गर्नु नपर्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।अदालतले दुवै पक्षलाई साउन १५ मा छलफलका लागि बोलाएको छ ।

पर्यटन सचिव महेश्वर न्यौपानेको नेतृत्वमा आर्थिक हिनामिना र अनुशासनको विषयलाई लिएर जांचबुझ गर्न समिति बनेको थियो । उक्त समितिले अधिकारीविरुद्ध लागेका ५२ आरोपबारे छानविन गरेर प्रतिवेदन बुझाइसकेको छ ।

समितिले ५० अर्ब ऋणमा डुबेको निगमको नेतृत्व गर्न अधिकारी असफल रहेको भन्दै उनि आर्थिक र नैतिक रुपमा पतित व्यक्ति रहेको निष्कर्श निकालेको थियो । समितिले छानविन समिति बनेको २९ औं दिनमा प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाइसकेको छ । छानविन प्रतिवेदन रोक्न अधिकारीले समितिका संयोजक न्यौपानेलाई आर्थिक प्रलोभन दिएको स्वंयम् उनले नै सार्वजनिक गरेका थिए ।

त्यसका साथै अधिकारीले एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनामार्फत समेतर छानविनको प्रतिवेदन रोक्न दबाव दिएको न्यौपानेले खुलासा गरेका थिए ।

विवादित पृष्ठभुमिका अधिकारीलाई यही रिपोर्टको आधारमा बर्खास्त गर्ने तयारी भइरहेको हो । सरकारले सफाइको अन्तिम मौका दिँदै उनलाई फेरी बर्खास्त गर्ने तयारी गरेको हो । अधिकारीलाई कार्यकारी अध्यक्षमा नियुक्त गरेदेखि नै नेपाल वायु सेवा निगममा विवाद हुंदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement