काठमाण्डु– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेपालले भारतको भूमि अतिक्रमण गरेको भन्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिप्रति सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धारणा माग गरेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति रास्वपाको धारणा के हो भन्ने माग राखे ।
‘देशको जिम्मा लिएको रुलिङ पार्टीका हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा प्रधानमन्त्रले बोल्नुभएको ‘नेपालले भारतको सीमाना मिचेको छ’ भन्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको धारणा केहो ?’ दुलालले भने, ‘यो सम्मानित सदनबाट आमनेपाली नागरिकलाई पनि आफ्नो धारणा राख्नुपर्छ ।’
शाह कुनै दल विशेषको प्रधानमन्त्री नभई आफूहरुको पनि प्रधानमन्त्री भएको दुलालले बताए । फरक विचारको भए पनि शाह राष्ट्रको प्रमुख अभिभावक भएको उनको भनाइ थियो ।
सीमा सम्बन्धी विवादमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रकै चिन्ताको विषय भएको बताए । दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने दोहो-याए ।
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा आएर राष्ट्रका नाममा सम्बोधन गर्नुपर्ने माग उनले राखे ।
आफूहरु संसद सहज ढंगले चलोस, बजेट छलपल भएर पारित होस् भन्ने चाहेको उनले स्पष्ट गरे । नेपाली जनताले कानून निर्माणका लागि अभिमत दिएर पठाएकामा द्विधा नरहेकाले सदन अवरुद्ध भइरहोस् भन्ने चाहना नराखेको बताए ।
उनले साउन १ गतेबाट लागू हुने नयाँ बजेटभन्दा देशको सीमानाबारे प्रधानमन्त्रीले संसदमा बोलेको विषय गम्भीर भएकाले उच्चस्तरीय राजनीतिक, बैठक र छलफलबाट समस्याको समाधान खोज्न सुझाए ।
समस्या साधानका लागि भूमिका खेल्न उनले सभामुख डोलप्रसाद अर्याललाई पनि आग्रह गरे । दुलालले प्रधानमन्त्रीलाई रूलिङ गर्न सभामुखको ध्यानाकर्षण गराए ।




प्रतिक्रिया