गणतन्त्र र संघीयतामाथि प्रहार भए मुलुक द्वन्द्वमा जाने नेकपाको चेतावनी

गणतन्त्र र संघीयतामाथि प्रहार भए मुलुक द्वन्द्वमा जाने नेकपाको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा हालै सम्पन्न प्रथम महाधिवेशनबाट प्रदेश खारेज गर्ने निर्णय गरेकामा आपत्ति जनाएको छ ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सो दलका प्रमुख सचेतक युवराज दुलालले रास्वपा महाधिवेशनमा प्रतिनिधिबीच छलफलै नभई पारित भएका केही दस्तावेजले लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध आएको भन्दै आपत्ति जनाए ।


‘सत्तारुढ दलको महाधिवेशनमा सभापतिको प्रस्तावमा नआई अन्य विभिन्न प्रस्तावमा महाधिवेशनमा प्रतिनिधिबीच छलफल नभई पारित भएका भनिएका केही दस्तावेजहरुमा लोकतन्त्रका आधारलाई हल्लाउने गन्ध आइरहेकोप्रति हामी सचेत छौं’, दुलालले भने, ‘लोकप्रियताको सुन्दर घुम्टोले ‘केमोफ्लाइज्ड’ भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्क्याई–जिस्क्याई ‘सेबोटेज’ गर्न बढ्दै गएको कपट र षड्यन्त्रप्रति हामी गम्भीर र सचेत छौं ।’


उनले संसदीय निर्वाचनको संख्यामा सानो भए भए पनि त्यो सधैंका लागि नभई आवधिक भएको बताए ।

‘हामी आवधिक चुनावमा योपटक तपाईंहरुसँग हारेका हौं । सधैंका लागि हारेका होइनौं । हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौं । दायाँ आशन (सत्तापक्ष) मा फेरि अरु पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारुढ दललाई हेक्का रहोस् भन्न चाहन्छु । नेपालका प्रगतिशिल, लोकतान्त्रिक र वामपन्थी दललाई पुनः एकीकृत गर्दै देशको नेतृत्व गर्ने हाम्रो उद्धेश्य कायमै छ । हामी एकताबद्ध भएर पुनः संगठित भई नेतृत्व र पहलकदमीसहित अघि बढ्दैछौं’, उनले भने ।

उनले अर्थमन्त्री स्वर्णिम वाग्लेले चुनाव जितेर आफ्नैै भाषामा बजेट लेख्न दिएको चुनौती स्वीकार गरे ।


उनले गणतन्त्र स्थापनाका लागि आफूहरुले खुलेआम घोषणा गरेर संघर्ष गरेको र व्यापक जनसमर्थनसहित निर्वाचित जनप्रतिनिधिले गणतन्त्र स्थापना गरेको नबिर्सन रास्वपालाई चुनौती दिए ।

‘जनतालाई आह्वान गरेर जनताको व्यापक समर्थनसहित रगत पसिना बगाएर, मत मागेर र मत पाएरै यो व्यवस्था स्थापना गरेका हौं’, उनले भने ।

रास्वपाले निर्वाचनका दौरान मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशजस्ता पिछडिएका क्षेत्रमा गएर संघीयता बलियो बनाउने बाचा गरेर भोट मागेको उनले स्मरण गराए । ‘हामी प्रदेश र स्थानीय तहलाई बलियो बनाउँछौं भन्नेर मत माग्ने अनि मत पाएर आएपछि तीनै संरचना खारेन गर्ने नीति पारित गर्नु जनताप्रतिको बेइमानी र धोका हो’, उनले भने, ‘जसरी सुकुम्बासी बस्तीमा मत माग्न जाँदा उचित व्यवस्थापन नभई डोजर चलाइए छाती थाप्न आउने बाघ हुङ्कार भएको थियो र सरकार बनेपछि सुकुम्बासी बस्तीमा डोजर चलाउँदा स्याल हुँकार भएको थियो । ढाँटछल र धोका हो ।’


सुशासन, भ्रष्टचार अन्त्य, रोजगारी वृद्धि र समग्र देशको विकास तथा राजनीतिक समृद्धिको आशामा जनताले विश्वास गरेर रास्वपालाई निर्वाचनमार्फत दुर्लभ अवसर दिए पनि उक्त सत्य स्वीकार नगरी व्यवस्थाप्रति पूर्वाग्रह साँध्ने बाटोमा
अघि बढे मुलुक द्वन्द्वमा जाने चेतावनी दुलाले दिए ।

उनले जनयुद्ध र जनआन्दोलनको बलमा एकात्मक केन्द्रीकृत राजतन्त्र फालेर गणतन्त्र ल्याएको स्मरण गर्दै रास्वपाले पाएको जनमत संघीयता फाल्न नभई व्यवस्था सुदृढीकरणका लागि भएको उल्लेख गरे ।

प्रदेशको उपस्थितिबिना संघीयताको अर्थ हुँदैन भन्ने सामान्य ज्ञान नभएकाहरुले राजनीति पढेर मात्र राजनीतिमा आउनुपर्ने तर्क उनले गरे ।