काठमाण्डु– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले त्रिपुरेश्वरमा ट्राफिक प्रहरीसँगको विादपछि बसमा आगलागी गराएर घाइते भएका चालक अर्जुन लामा दोङको मृत्युको घटनालाई लिएर सरकारमाथि गम्भीर प्रश्न उठाएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै दुलालले घटनालाई चालकको आवेग वा उत्तेजनाको परिणामका रूपमा मात्र बुझ्न नहुने बताए । उनले घटनाले राज्यका नियमनकारी निकाय र श्रमिकबीचको सम्बन्ध, श्रमिकमाथिको व्यवहार तथा नागरिकप्रति राज्यको संवेदनशीलतामाथि प्रश्न उठाएको उल्लेख गरे ।
दुलालले ट्राफिक प्रहरीसँग विवाद भएपछि चालकले आफूलाई थप दबाब दिइए ‘लास हुने’ भन्दै बस धनीलाई जानकारी गराएको र उक्त कुरा ट्राफिक प्रहरी हुँदै राज्यका निकायसम्म पुगेको दाबी गरे । तर राज्यले त्यसलाई गम्भीर रूपमा नलिँदा घटना भएको उनको आरोप थियो ।
‘सवारी चालकले म लास हुँदैछु भनेर उद्घोष गरिसकेपछि राज्यले सुन्यो तर विवेक गुमायो, समवेदना गुमायो’, दुलालले भने, ‘यो उद्घोष गर्ने युवा मर्छ कि मर्दैन भनेर लामो समय राज्य कुरेर बस्यो र अन्ततः उनको शरीरमा आगलागी भयो र उनी जीवन गुमाउन विवश भए ।’
उनले गृहमन्त्री सुधन गुरुङलाई नेपाल प्रहरीअन्तर्गतको ट्राफिक प्रहरीले गरेको लापरबाहीका लागि जिम्मेवारी लिनुपर्ने बताए ।
दुलालले त्रिपुरेश्वरमै केही महिनाअघि महानगर प्रहरीसँगको विवादपछि गणेश नेपालीको मृत्यु भएको घटनासमेत स्मरण गरे। एउटै ठाउँमा नियमनकारी निकाय र सवारी चालकबीचको विवादले गम्भीर परिणाम निम्त्याएको भन्दै उनले राज्यले यस्ता घटनाबाट पाठ सिक्नुपर्ने बताए ।
‘हिजो गणेश नेपालीले जीवन गुमाउँदा महानगर प्रहरी नेपाल सरकारको होइन, स्थानीय सरकारको भनियो । आज माननीय गृहमन्त्रीजीलाई प्रश्न गर्न चाहन्छु– नेपाल प्रहरीअन्तर्गतको ट्राफिक प्रहरी बल कसको हो ? नेपाल सरकार कसको हो ? र नेपाल प्रहरी चलाउने मन्त्री को हो ?’, उनले प्रश्न गरे ।
‘सस्तो भावुकता, उत्ताउलोपना र देखासिकीले सरकार चलाउन त सकिन्छ तर सरकार वास्तवमै एउटा कुशल राजनीतिज्ञको चरित्र देखाएर सरकार चलाउन सकिँदैन,’ दुलालले भने ।
उनले घटनालाई लाखौँ बेरोजगार तथा अस्थायी रोजगारीमा रहेका युवाको पीडा र श्रमिक तथा नियमनकारी निकायबीचको सम्बन्धसँग जोडेर हेर्नुपर्ने बताए ।
दुलालले ठूला सवारीसाधनको चालक अनुमतिपत्र लिनुअघि साना सवारीको अनुमतिपत्र लिनुपर्ने व्यवस्थासमेत पुनरावलोकन गर्न माग गरे । क्षमता भए पनि विद्यमान व्यवस्थाका कारण ठूला सवारी चलाउने अनुमतिबाट वञ्चित हुने अवस्था सच्याउनुपर्ने उनको भनाइ थियो ।
साथै, सुरक्षित र व्यवस्थित सडक पूर्वाधार निर्माणसँगै नियमनकारी निकायलाई नागरिक तथा श्रमिकसँग मर्यादित व्यवहार गर्न आवश्यक प्रशिक्षण र परामर्श दिन उनले सरकारसँग आग्रह गरे ।
यातायात क्षेत्रका चालक तथा सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गरी उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकार र व्यवसायी दुवैलाई उनले आग्रह गरे ।
दुलालले त्रिपुरेश्वर घटनाको सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न माग गरे । आयोगमार्फत घटनाको विस्तृत अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको माग छ ।
सोमबार त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि ट्राफिक प्रहरीसँग विवाद भएपछि सार्वजनिक बसमा आगलागी भएको थियो । आगलागीमा गम्भीर घाइते चालक दोङको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।




प्रतिक्रिया