काठमाण्डु– युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसबाट डिजेल निर्यात गर्न लगाइएको प्रतिबन्धमा अमेरिकाले छुट दिएको निर्णयको आलोचना गरेका छन्।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कदमलाई ‘शक्तिशाली साझेदारको कमजोर निर्णय’ भन्दै यसलाई अन्यायपूर्ण र साझेदारीको भावनाविपरीत भएको बताएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ट्रम्पले टेलिफोन वार्ता गरेर डिजेल आपूर्ति बढाउने सहमति गरेपछि जेलेन्स्कीको यस्तो प्रतिक्रिया आएको हो। रुससँगको सहमति युक्रेनी
प्रतिनिधिमण्डल र युरोपेली अधिकारीहरू अमेरिकासँग सम्भावित शान्ति सम्झौताबारे छलफल गर्न मियामीमा जुटेकै बेला भएको थियो।
पश्चिमा सञ्चारमाध्यमका पत्रकारलाई पठाएको अडियो सन्देशमा जेलेन्स्कीले अमेरिकाले रुससँग छुट्टै सम्झौता अघि बढाउँदा युक्रेनी वार्ताकारहरूलाई आवरणका रूपमा प्रयोग गरेको आशंका व्यक्त गरेका छन्।
उनले पुटिनको ७४औँ जन्मदिनको उपहारजस्तो देखिएको भन्दै उक्त निर्णयको आलोचना गरेका हुन्।
ट्रम्पले भने इन्धनको बढ्दो मूल्य नियन्त्रण गर्न रुसी डिजेल आवश्यक रहेको बताएका छन्। ‘हामीलाई विश्वका लागि तेल चाहिन्छ। अहिले हामीलाई चाहिएको डिजेल हो। त्यसैले यो आपूर्तिबाट हामी खुसी छौँ,’ उनले भनेका छन्।
रुसबाट लाखौँ टन डिजेल आपूर्ति गर्ने योजना
ट्रम्पका अनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल आपूर्ति गर्नेछ। त्यसपछि नोभेम्बरमा पाँच लाख टन र त्यसलगत्तै थप १० लाख टन आपूर्ति गर्ने योजना छ।
रिफाइनरीको क्षमताअनुसार थप तीन लाख होइन, ३० लाख टनसम्म आपूर्ति बढाउने सम्भावना रहेको रुसी पक्षको भनाइ छ।
अमेरिकी अर्थ मन्त्रालयले रुसी डिजेलको कारोबारमा अस्थायी प्रतिबन्ध छुट जारी गरेको समाचारमा उल्लेख छ। वासिङ्टनले विश्वव्यापी इन्धन अभाव र बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयासस्वरूप यस्तो निर्णय गरेको हो।
ट्रम्पले युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा गरेको आक्रमणलाई इन्धन संकटको एउटा कारण बताएका छन्। उनले यसअघि पनि जेलेन्स्कीलाई रुसी इन्धन पूर्वाधारमा आक्रमण रोक्न आग्रह गरेका थिए।
तर, अमेरिकी दबाबका बाबजुद युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा लामो दूरीका आक्रमण थप तीव्र बनाउने संकेत दिएको छ।
फाइनान्सियल टाइम्स लाई एक वरिष्ठ युक्रेनी अधिकारीले वासिङ्टन र मस्कोबीचको सहमतिले युक्रेनको रणनीति नबदल्ने बताउँदै रुसी प्रशोधन केन्द्रमा आक्रमण जारी राख्ने संकेत दिएका छन्।
अमेरिकामा डिजेलको मूल्य उच्च
अमेरिकामा इन्धनको मूल्य बढ्नु ट्रम्प प्रशासनका लागि घरेलु राजनीतिक चुनौती बनेको छ। नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इन्धनको मूल्य नियन्त्रण गर्नु ट्रम्पका लागि महत्त्वपूर्ण विषय बनेको समाचारमा उल्लेख छ।
सेप्टेम्बरमा अमेरिकामा डिजेलको मूल्य प्रतिग्यालोन ६.५० डलरभन्दा माथि पुगेको थियो। क्यालिफोर्नियाका केही क्षेत्रमा मूल्य आठ डलरभन्दा बढी पुगेको जनाइएको छ।
पुटिनले भने रुस अमेरिकी तथा विश्व बजारमा तेल र पेट्रोलियम पदार्थ आपूर्ति गर्न तयार रहेको बताएका छन्। यसले विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने उनको दाबी छ।



प्रतिक्रिया