ओपनरको दुई सतकसहित श्रीलंकाको सनसनी, भारत ‘ए’ ८ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरियो

ओपनरको दुई सतकसहित श्रीलंकाको सनसनी, भारत ‘ए’ ८ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोहा-सिनेथ जयवर्धने र लसिथ कूसपुलेले शतकीय पारी खेलेपछि श्रीलंका ‘ए’ ले राइजिङ स्टार्स एसिया कपको सेमिफाइनलमा भारत ‘ए’ लाई ८ विकेटले पराजित गरेको छ। यो हारसँगै भारत प्रतियोगिताबाट बाहिरिएको छ । उता श्रीलंका फाइनल पुगेको छ।

दोहामा बिहीबार भएको खेलमा भारत ‘ए’ ले दिएको ३१८ रनको लक्ष्य श्रीलंका ‘ए’ ले ४१.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो। श्रीलंकाको जितमा दुवै ओपनरले शतक प्रहार गरे।

सिनेथ जयवर्धनेले ७० बलमा १० चौका र ६ छक्कासहित १०५ रन बनाए। लसिथ कूसपुलेले १०७ बलमा १२ चौका र ३ छक्काको मद्दतमा ११६ रन जोडे। यी दुईले पहिलो विकेटका लागि २२ ओभरमा १८५ रनको विशाल साझेदारी गर्दै भारतलाई सुरुमै दबाबमा राखेका थिए।

जयवर्धनेलाई शाहबाज अहमदले १०५ रनमा आउट गरे। उनको क्याच तनुष कोटियनले समाते। त्यसपछि पनि श्रीलंकाको रन गति रोकिएन। कूसपुलेले दोस्रो विकेटका लागि पनि बलियो साझेदारी गर्दै टोलीलाई जितको नजिक पुर्‍याए। उनलाई हर्षित राणाले ११६ रनमा रिंकु सिंहको हातबाट क्याच गराए।

त्यसपछि निशान मदुष्का र पवन रत्नायकेले टोलीलाई जितसम्म पुर्‍याए। मदुष्का ५५ र रत्नायके ३० रनमा अविजित रहे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३१७ रन बनाएको थियो। भारतका लागि अभिषेक शर्माले सर्वाधिक ७८ रन बनाए। उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे।

कप्तान तिलक वर्माले ६६ बलमा तीन चौका र एक छक्कासहित ५३ रन जोडे। शाहबाज अहमदले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा अविजित ५४ रन बनाए। उनले चार चौका र दुई छक्का प्रहार गरे। वैभव सूर्यवंशीले २७ बलमा चार चौका र तीन छक्कासहित ४० रन बनाए।

भारतले सुरुआतमा राम्रो प्रदर्शन गरे पनि मध्यक्रममा लगातार विकेट गुमाएको थियो। वैभव र अभिषेकले पहिलो विकेटका लागि ५० रनभन्दा बढीको साझेदारी गरेका थिए। वैभव आठौँ ओभरमा ४० रन बनाएर आउट भए। त्यसपछि अभिषेक र तिलकले इनिङ्स सम्हाले पनि अभिषेक ७८ रनमा आउट भएपछि भारतको रन गति केही सुस्त भयो।

तिलकले अर्धशतक पूरा गरे पनि ३३औँ ओभरमा रविन्दु फर्नान्डोको बलमा एलबीडब्ल्यू आउट भए। त्यसपछि रिंकु सिंह १२ र कुमार कुशाग्र २१ रनमा आउट भए। सूर्यांश शेडगेले १० रन बनाए। अन्तिमतिर शाहबाज र तनुष कोटियनले उपयोगी रन जोडे। कोटियन २८ रन बनाएर आउट भए।

श्रीलंकाका गरुका संकेतले तीन विकेट लिए भने रविन्दु फर्नान्डोले दुई विकेट हात पारे। निपुण धनञ्जयले पनि दुई विकेट लिए।

समूह चरणमा भारत ‘ए’ तीनमध्ये दुई खेल जित्दै समूह ‘बी’ को दोस्रो स्थानमा रहेर सेमिफाइनल पुगेको थियो। पाकिस्तान ‘ए’ सँग भारत पराजित भएको थियो। श्रीलंका ‘ए’ भने समूह ‘ए’ का तीनवटै खेल जित्दै शीर्ष स्थानमा रहेर अन्तिम चारमा पुगेको थियो।

तर सेमिफाइनलमा भारतीय ब्याटिङले दिएको ३१८ रनको लक्ष्य श्रीलंकाका दुई ओपनरको शतकीय प्रदर्शनसामु पर्याप्त हुन सकेन। श्रीलंकाले ८.४ ओभर बाँकी छँदै सहज जित निकाल्दै भारतको उपाधि यात्रामा पूर्णविराम लगायो।