काठमाण्डु– राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेर गम्भीर घाइते भएका गणेश नेपालीको उपचारमा संलग्न चिकित्सकले उनलाई बचाउन नसकिएकामा दुःख व्यक्त गरेका छन् ।
नेपालीलाई शुक्रबार बिहान ११ बजेर १९ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई वीर अस्पतालको ‘बर्न भेन्टिलेटर’ मा राखेर उपचार गरिएको थियो ।
नेपालीको उपचारमा संलग्न डा. पियुष दाहालले अन्तिमसम्म सक्दो प्रयास गर्दा पनि उनलाई बचाउन नसकिएको बताए । दाहालका अनुसार आगोको तातो हावा र आगोको धुवाँ र तातो आवा स्वाससँगै फोक्सोसम्मै पुगेर श्वासनलीमा घाउ भएको थियो ।
नेपालीलाई दुईपटकसम्म हृदय–फोक्सो पुनर्जीवन प्रक्रिया (सीपीआर) गरिएको थियो । राति एकपटक केही समय नेपालीको फोक्सोले काम गरेको थियो ।
तर, पछि निस्क्रिय भएको चिकित्सक बताउँछन् । ‘पहिलोचोटि हामीले सीपीआर गरेर उहाँलाई फर्काएका थियौं’, डा. दाहालले भने, ‘केही समयपछि फेरि पहिलाकै अवस्थामा जानुभयो, हामी बचाउन असफल भयौं ।’
उनको शरीरको ५५ प्रतिशत भाग जलेको डा. दाहालले बताए ।
मुगुको सोरु गाउँपालिका–१ घर भई हाल भक्तपुर बस्दै आएका नेपालीले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गरेका थिए ।
राहदानी विभाग अगाडिको सडकमा पार्किङ गरेको मोटरसाइकलमा महानगर प्रहरीले ह्वील लक लगाएका कारण आत्महत्या गरेको भनिए पनि स्पष्ट कारण खुलेको छैन ।
थप उपचारका लागि भारत लैजाने तयारी भए पनि अवस्था अत्यन्त गम्भीर रहेकाले खोजिम हुने भन्दै चिकित्सकले रोकेका थिए ।




प्रतिक्रिया