काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा जाने प्रतिनिधिमण्डलको टोली सानो र सीमित बनाइने भएको छ । भ्रमणका क्रममा सुरक्षा तथा प्रोटोकलमा खटिने जनशक्तिबाहेक करिब २५ जनाको प्रतिनिधिमण्डल मात्र भारत जाने भएको छ।
भ्रमणमा सहभागी हुने मन्त्रीहरूको संख्या पनि घटाएर दुई जनामा सीमित गर्ने तयारी गरिएको स्रोतले जनाएको छ। प्रधानमन्त्री शाहसँग परराष्ट्रमन्त्री र ऊर्जामन्त्री मात्र भारत जानेछन्। यसअघि भ्रमण टोलीमा सहभागी हुने भनिएका सांसदहरूको नामसमेत हटाइएको छ।
प्रधानमन्त्री शाह भारतमा करिब २५ घण्टा रहने कार्यक्रम छ। भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। मोदीसँग प्रधानमन्त्री शाहको करिब एक घण्टा एक्लाएक्लै वार्ता गर्ने कार्यक्रमसमेत तय गरिएको छ।
त्यस्तै, मन्त्रीस्तरीय भेटघाटका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग मात्र भेटवार्ता गर्ने तयारी छ। सीमित समय र सानो प्रतिनिधिमण्डलसहित हुन लागेको भ्रमणमा मुख्यतः दुई देशबीचका द्विपक्षीय सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाह दिल्लीस्थित ताजमहल होटलमा बस्नेछन्। सरकारी प्रतिनिधिमण्डललाई सानो र सीमित बनाइए पनि सञ्चारकर्मी तथा व्यवसायीहरू भने आफ्नै खर्चमा छुट्टै टोली बनाएर भारत जाने तयारीमा छन्।
यसरी प्रधानमन्त्री शाहको भारत भ्रमणमा औपचारिक सरकारी प्रतिनिधिमण्डल सीमित राख्दै उच्चस्तरीय राजनीतिक भेटवार्ता र द्विपक्षीय छलफललाई प्राथमिकता दिने तयारी गरिएको छ।



प्रतिक्रिया