बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने

बेनी-दरवाङ-मुना सडक पुनर्निर्माण गर्न नौ करोड लाग्ने

नियमित यातायात सञ्चालन गर्न तत्काल कठिन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्याग्दी – बाढीपहिरो र म्याग्दी नदीको कटानले क्षतविक्षत बनेको बेनी–दरवाङ–मुना सडक पुनर्निर्माण गर्न करिब ९ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। गत असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि आएको बाढीपहिरोले सडकका विभिन्न खण्डमा ठूलो क्षति पुर्‍याएको हो।

पश्चिम म्याग्दीका मङ्गला, मालिका र धौलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने सडकको बेनीदेखि मुना खण्डका करिब २२ स्थानमा क्षति पुगेको पूर्वाधार विकास कार्यालय म्याग्दीले जनाएको छ।

कार्यालयका अनुसार बाढीपहिरो र नदी कटानले सडक भासिनुका साथै ग्यावियन जाली, टेवा पर्खाल र कालोपत्र सडक बगाएको छ। बेनीदेखि मङ्गला गाउँपालिका–२ पानाबगरसम्म १५ स्थानमा पहिरो खसेको छ भने दुई स्थानमा नदी कटानले सडक भत्काएको छ। यस खण्डमा मात्रै तीनदेखि चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।

मालिका गाउँपालिका–६ बलौटेमा म्याग्दी नदीले करिब एक सय मिटर कालोपत्र सडक बगाएको छ। पानाबगरदेखि दरवाङसम्म चार स्थानमा पहिरो खसेको छ। दरवाङदेखि मुना खण्डको धारापानीमा करिब १५० मिटर ढलान गरिएको सडक भासिएको छ भने थापाचौरमा पनि पहिरोले सडक संरचनामा क्षति पुर्‍याएको छ।

वैकल्पिक सडकबाट यातायात सञ्चालन

सडकमा क्षति पुगेपछि बेनीदेखि मुनासम्मको सीधा यातायात प्रभावित भएको छ। बलौटेदेखि तोलाबाङसम्मको सडकमा ठूलो क्षति पुगेपछि दुखुखोला पुलदेखि दुखुबेँसी हुँदै तोलाबाङ जोड्ने वैकल्पिक सडक प्रयोग गरेर यातायात सञ्चालन गरिएको छ।

साँघुरो, कच्ची र उचित ग्रेड नमिलेको वैकल्पिक सडकमा ठूला सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ। क्षतिग्रस्त सडकमा पैदलयात्रा गर्नसमेत जोखिम रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख वरिष्ठ डिभिजनल इन्जिनियर राजेश उलकले बताए।

उनका अनुसार बलौटेमा नदी कटानले सडकको डिलदेखि भित्री भागसम्मै भत्काएकाले तत्काल नियमित यातायात सञ्चालन गर्न कठिन छ। सडक पुनर्निर्माणका लागि खोलाको किनारतर्फ पक्की पर्खाल निर्माण गर्नुपर्ने आवश्यकता छ।

पुनर्निर्माणका लागि बजेट व्यवस्था

कार्यालय प्रमुख उलकका अनुसार बेनी–पानाबगर खण्ड पुनर्निर्माण गर्न चार करोड ६२ लाख ५६ हजार २० रुपैयाँ र पानाबगर–दरवाङ खण्डको बलौटे क्षेत्रमा पुनर्निर्माण गर्न दुई करोड २७ लाख ४३ हजार ५९९ रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
बलौटे खण्ड पुनर्निर्माणका लागि प्रदेश सरकारले २५ लाख रुपैयाँ स्रोत सुनिश्चित गरेको छ। दसैँलगत्तै काम सुरु गर्ने तयारी रहेको कार्यालयले जनाएको छ।

म्याग्दी–१ (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले बस्तीलाई असर नपर्ने गरी सडक पुनर्निर्माण गर्नुपर्ने र आगामी वर्षायामअघि नदी नियन्त्रणको काम गर्नुपर्ने बताए। आवश्यक बजेट व्यवस्थापन गरी क्षतिग्रस्त सडक एक वर्षभित्र पुनर्निर्माण गर्न पहल भइरहेको उनको भनाइ छ।

हाल पहिरो पन्छाएर बेनीदेखि दुखुखोला पुलसम्म र त्यहाँबाट वैकल्पिक सडक हुँदै तोलाबाङ, दरवाङ र मुनासम्म एकतर्फी यातायात सञ्चालन भइरहेको छ। फापरखेत पहिरोका कारण पखेर–बरङ्जाङ–सातबिसे–बाबियाचौर वैकल्पिक सडकसमेत सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

बेनीदेखि दरवाङसम्म २४ किलोमिटर दूरी रहेको सडकको १६ किलोमिटर ४०० मिटर खण्ड कालोपत्र भएको छ। दरवाङदेखि मुनासम्मको १८ किलोमिटर सडकमा धारापानी–झिनडाँडा खण्डको छ किलोमिटरबाहेक बाँकी निर्माणाधीन छ।

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्पसमेत मानिने बेनी–दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक पश्चिम म्याग्दीका बासिन्दाका लागि महत्वपूर्ण मार्ग हो।