परराष्ट्रमन्त्री जेनेभा प्रस्थान, द्वन्द्वकालीन मुद्दाबारे बोल्ने

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान, द्वन्द्वकालीन मुद्दाबारे बोल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै केहीबेरअघि त्यसतर्फ प्रस्थान गरेका छन् ।

जेनेभा प्रस्थान गर्नुअघि रासससँग सङ्क्षिप्त कुरा गर्दै यही फागुन १३ गते हुने उक्त बैठकमा आफूले मानवअधिकार प्रवद्र्धन र संरक्षणप्रति नेपाल सरकारको पूर्ण प्रतिबद्धता, नेपालको संविधान र प्रचलित ऐन कानूनबमोजिम बालअधिकारको रक्षा, जातीय, लिङ्गिय विभेदको अन्त्य, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानूनको अक्षरशः पालनाका साथै मानवअधिकार, बालअधिकारको प्रत्याभूति र प्रवद्र्धनमा नेपालले हासिल गरेका उपलब्धि प्रस्तुत गरिने जानकारी दिए ।

यो वर्ष बालअधिकारसम्बन्धी सन्धि भएको २५औँ वार्षिकोत्सवका सन्दर्भमा नेपालले बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने मन्त्री ज्ञवालीले बताए ।

सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगलगायत द्वन्द्वकालीन मुद्दाको निरुपणप्रतिको नेपालको पूर्ण प्रतिबद्धता पनि बैठकमा दोहो¥याइने उनले बताए ।

जेनभा रहँदा मन्त्री ज्ञवालीले त्यहाँस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा कूटनीतिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभामा रहँदा उनले राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारी छन् । उनी फागुन १६ गते स्वदेश फर्कनेछन् । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र उक्त मन्त्रालयका उच्च अधिकारीले बिदाई गरेका थिए ।