नयाँ प्रहरी प्रमुखको कार्ययोजनाः वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउने

नयाँ प्रहरी प्रमुखको कार्ययोजनाः वित्तीय अपराध अनुसन्धान प्रभावकारी बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रहरीले अनुसन्धान वित्तीय अपराधका घटनामा अनुसन्धान, प्रमाण सङ्कलन र अभियोजनबीचको समन्वय कमजोर हुँदा न्यायिक प्रक्रियासमेत प्रभावित हुन सक्ने चुनौतीलाई सम्बोधन गर्न प्रणाली सुधारमा जोड दिएर काम गर्ने भएको छ ।

वित्तीय कारोबारमा प्रविधिको प्रयोग बढ्दै जाँदा अपराधको स्वरूप पनि जटिल बन्दै गएको निष्कर्षसहित प्रहरीले अनुसन्धानलाई वैज्ञानिक र प्रविधिमैत्री बनाउने विषयलाई प्राथमिकतामा राखेको हो ।

प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यशाला उद्घाटन गर्दै वित्तीय अपराध नियन्त्रणका लागि परम्परागत अनुसन्धान पद्धतिले मात्रै नपुग्ने बताए ।

उनले वित्तीय अपराधको बदलिँदो स्वरूप र प्रविधिको प्रयोगबाट सिर्जित चुनौती सामना गर्न आधुनिक प्रविधि तथा वैज्ञानिक अनुसन्धान विधि अपनाउनुपर्नेमा जोड दिए ।

‘वित्तीय अपराधको बदलिँदो स्वरूप, अनुसन्धानमा प्रविधिको बढ्दो प्रयोग तथा यसबाट सिर्जित चुनौतीलाई सम्बोधन गर्न आधुनिक प्रविधि र वैज्ञानिक अनुसन्धान पद्धतिको अवलम्बन अपरिहार्य छ,’ केसीले भने ।

वित्तीय अपराधको अनुसन्धानमा प्रमाण सङ्कलन र विश्लेषणदेखि अभियोजन तथा अदालतबाट हुने फैसलासम्मका चरणलाई प्रभावकारी बनाउने उपाय पहिचान गरिने केसीले बताए ।

उनले वित्तीय अपराध नियन्त्रण प्रहरीको एकल प्रयासबाट मात्रै सम्भव नहुने भन्दै सरकारी निकाय, नियामक संस्था, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकबीच सूचना आदानप्रदान तथा सहकार्य बलियो बनाउनुपर्ने बताए ।

कार्यक्रममा अपराध अनुसन्धानदेखि न्यायिक निरूपणसम्मका प्रक्रियामा देखिएका समस्या र सुधारका उपायमाथि छलफल हुने प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी अबिनारायण काफ्लेले बताए ।

कार्यशालामा उच्च प्रहरीका अधिकारी, अपराध अनुसन्धानकर्ता, अभियोजनकर्ता, वित्तीय नियामक निकाय, बैंक तथा वित्तीय संस्था र दूरसञ्चार सेवा प्रदायकका प्रतिनिधि सहभागी छन् ।