काठमाण्डु– सरकारले २४ भदौ २०८२ को जेन-जी आन्दोलनका क्रममा आजगनी र लुटपाटका कारण अर्बौँको क्षति व्यहोरेको भाटभटेनी सुपरमार्केटलाई मंगलबार सम्मान गरेको छ ।
राष्ट्रिय कर दिवसका अवसरमा काठमाण्डुमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङकी श्रीमती सावित्रीलाई सम्मानपत्र हस्तान्तरण गरे ।
जेन-जी आन्दोलनका कारण अतुलनीय क्षति व्यहोरेर पनि युद्धस्तरमा पुनःनिर्माण गरी भाटभटेनीका सबै आउटलेट पूर्ववत् अवस्थामा सञ्चालनमा ल्याएकाले सम्मान गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिकूल परिस्थितिमा पनि व्यवसायलाई निरन्तरता दिएको, पुनर्निर्माणलाई तीव्रता दिएर अधिकांश स्टोर सञ्चालनमा ल्याएको तथा राजस्व र रोजगारीमा योगदान पुर्याएकाले सम्मानपत्र प्रदान गरिएको व्यहोरा लेखिएको छ ।
सम्मानपत्र दिइए पनि आगजनी र लुटपाटबाट ११ अर्ब बढीको क्षति व्यहोरेको भाटभटेनीको नोक्सानीबारे सरकारले अहिलेसम्म आधिकारिक मूल्याङ्कन गरेको छैन । क्षतिपूर्तिको विषयमा पनि सरकारबाट कुनै ठोस निर्णय भएको छैन ।
जेन-जी आन्दोलनकारीले राजधानीसहित देशका विभिन्न सहरमा सञ्चालित भाटभटेनीका २१ वटा स्टोरमा आगजनी, तोडफोड र लुटपाट गरेका थिए ।

आगजनीबाट १२ स्टोर पूर्ण रूपमा आगजनीबाट ध्वस्त भएका थिए । यस्तै नौवटामा आंशिक क्षति पुगेको थियो । आगजनी र तोडफोडका क्रममा भाटभटेनीभित्रै कम्तीमा १२ जनाको जलेर ज्यानसमेत गयो । त्यसक्रममा भाटभटेनीकै केही कर्मचारीले पनि ज्यान गुमाउन पुगे।
काठमाण्डुको टंगाल, महाराजगञ्ज, बौद्ध र कोटेश्वरका स्टोर तथा बालुवाटारस्थित केन्द्रीय गोदामका साथै भरतपुर, पोखरा, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरानका आउटलेट आगजनीबाट पूर्ण रुपमा नष्ट भएका थिए ।
त्यसबेला भाटभटेनीले १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८ सय ५४ रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक गरेको थियो । कम्पनीका अनुसार भवन तथा पूर्वाधारमा मात्रै ४ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको थियो ।
आगजनीबाट सामान तथा सामग्रीमा करिब ५ अर्ब ९६ करोड र तोडफोड तथा लुटपाटबाट करिब ५० करोड रुपैयाँ बराबरको नोक्सानी भएको कम्पनीले जनाएको छ ।
आन्दोलनको एक सातापछि आफ्नै लगानीमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण थालेको कम्पनीले पूर्ण रूपमा ध्वस्त भएका १२ मध्ये १० वटा आउटलेट फेरि सञ्चालनमा ल्याएको छ ।
दमक र हेटौँडाका आउटलेटको पुनर्निर्माण अझै जारी छ । पुनर्निर्माणमा मात्र करिब १५ अर्ब रुपैयाँ खर्च हुने अनुमान सार्वजनिक गरिएको थियो ।
कम्पनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार आगजनीबाट भवनसँगै बिक्री कक्ष, भण्डारण कक्ष, विद्युत् प्रणाली, उपकरण तथा अन्य भौतिक संरचनासमेत नष्ट भएकाले पुनर्निर्माणमा ठूलो रकम खर्च भएको छ ।
आगजनीपछि पनि भाटभटेनीले एकजना पनि कर्मचारीलाई जागिरबाट हटाएन । सबै कर्मचारीको जागिर जोगाइदिएको भाटभटेनीले सबै कर्मचारीलाई दसैँ बोनससहित पारिश्रमिक दिएको थियो ।



प्रतिक्रिया